धनगढी बजारमा नक्कली नोटको विगविगी कायमै, नक्कली र सक्कली नोट कसरी छुट्टाउने ? (भिडियो सहित हेर्नुहोस् )
केही समय अगाडीदेखि धनगढीमा छ्याप छ्याप्ती भेटिएका पाँच सय र एक हजारका नक्कली नोटहरुको विगविगी कायमै रहेको छ । धमाधम नक्कली नोट फेला पर्न थालेपछि धनगढीका व्यापारी र सर्वसाधारणहरु त्रसित भएका वेला यसको त्रास घटेको छैन ।
गत पुसको अन्तिम साता मात्रै नेपाली नक्कली नोट छाप्ने गिरोह मध्येका दुई जना भारतीय नागरिकलाई कञ्चनपुरबाट पक्राउ गरिएको भएपनि सो गिरोहका केही व्यक्तीहरुले नक्कली नोटहरु वजारमा दिईरहेका हुन । ठुलो रकमको गड्डीभित्र मिसाएर नक्कली नोटहरुलाई वजारमा पठाउने गरिएको छ ।
नक्कली नोटहरु भेटिन थालेका वेला सामान्य कुराहरुमा मात्रै ध्यान दिन सकेमा सहजै छुट्टाउन सकिने जानकारहरुको भनाई छ । सामान्यतया नोटमा कागजको गुणस्तर, धागो, पानी छाप हेरेर सक्कली हो वा नक्कली भनेर छुट्ट्याउन सकिन्छ । आखिर सक्कली र नक्कली नोट कसरी चिन्ने ? यसै विषयमा सहकर्मी सीताराम ओझाले एनआईसि एसिया वैंकका सेवा अधिकृत टेकराज जोशीसँग कुराकानी गरेका छन । कुराकानी भिडियोमा गएर हेर्न सक्नु हुनेछ ।
आखिर सक्कली र नक्कली नोट कसरी चिन्ने ?
सक्कली नोटको कागज कटनबाट बन्ने स्तरीय, खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो र लुलो हुन्छ । नोटमा उज्यालो पर्ने गरी हेर्दा सक्कली नोटको सेतो गोलाकार भाग, जहाँ केही लेखिएको हुँदैन, त्यहाँ लालीगुँरासको छाप स्पष्ट देखिन्छ भने नक्कली नोटमा देखिँदैन । देखिए पनि अस्पष्ट हुन्छ ।
नोटको दायाँतर्फ रहेको सेतो भागको बायाँतर्फको रंगीन आधा अक्षर (अंग्रेजीमा लेखिएको एनआरवी) लाई उज्यालो तर्फ फर्काएर हेर्दा स्पष्ट देखिन्छ भने नक्कली नोटमा ती अक्षर स्पष्ट देखिँदैन ।
सक्कली र जाली नोटलाई कान नजिकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खडखड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ ।