जलविहार सुविधा सहितको धनगढी फन सिटी पार्क निर्माण
धनगढीमा धनगढी फन सिटी फन पार्कको निर्माण भएको छ । जलविहार गर्नका लागि विभिन्न सुविधा सहितको फन पार्कको निर्माण कार्य सम्पन्न भएको हो ।
१२ करोड बढीको लगानीमा धनगढी उपमहानगरपालिका २ स्थित पुरानो भन्सार रोडमा झण्डै ढाई विगाह क्षेत्रफलमा फन पार्क निर्माण गरिएको हो । निर्माण सुरु भएको दुई वर्षमा फन पार्कको निर्माण सम्पन्न भएको हो ।
फन पार्कमा, जलविहार, लगायत विभिन्न प्रकारका पानीमा रमाउनका लागि आवश्यक पर्ने उपकरणहरु, रेष्टुरेन्ट लगायतको सुविधाहरु रहेको सञ्चालक श्याम विष्टले बताए ।
उनले निर्माण भएको फनपार्कमा स्वीमिङ पुल सहित वेव पुल, किड्स पुल, मल्ट्रिल्याण्ड स्लाईड, ट्युवलाईट स्लाईड, पेन्डुलम, म्युजिकल फनटेन, व्रेक डान्स लगायतका जल विहारमा आनन्द लिन सकिने सेवाहरु रहने बताए ।
बाहिरबाट धनगढीमा आउने पर्यटकहरुलाई, रमाउनका लागि आवश्यक स्थान नभएपछि निर्माण कार्य सुरु गरिएको फन पार्कले आन्तरिक पर्यटकहरुलाई सवैभन्दा बढी राहत हुने अर्का संचालक धर्मपाल सिंह रावतले वताए ।
नेपाल भारत सीमा क्षेत्र नजिकै रहेको पुरानो भन्सार रोडमा अवस्थित धनगढी फन सिटीको वैशाख १४ गतेदेखि सवैका लागि खुला गरिने संचालक रावतले बताए ।