जनप्रतिनिधिहरु सुविधा भोगी, बैठक भत्ताका नाममा १० लाख स्वाहा
कैलालीको घोडाघोडी नगरपालिकाका जनप्रतिनिधिहरुले बर्षभरीका लागि छुट्याएको ईन्धन वाफतको रकम ७ महिनामै सकेका छन् । बर्षभरीका लागि पदाधिकारीहरुको ईन्धन वाफतको रकम ५ लाख तोकिएको थियो। तर नगर परिषद मार्फत ईन्धनका लागि छुट्याईएको उक्त ५ लाख रकम ७ महिनामै सकिएको घोडाघोडी नगरपालिकाको लेखा शाखाले जनाएको छ । जथाभावी रुपमा ईन्धन वितरण हुदा बर्षभरीका लागि छुट्याईएको रकम ७ महिनामै सकिएको हो। पदाधिकारी ईन्धन शिर्षकमा छुट्याईएको ५ लाख रकममध्ये ४ लाख ८५ हजार रकम गत माघमै सकिएको हो। ईन्धन वाफतको रकममात्रै होईन घोडाघोडी नगरपालिकाका जनप्रतिनिधिले भत्ताका नाममा झण्डै १० लाख रकम स्वाहा पारेका छन्।
बैठक भत्ता, पदाधिकारी बैठक भत्ता, महंगी भत्ता र अन्य भत्ता शिषर्कमा छुट्याईएको मध्ये १० लाख रकम जनप्रतिनिधिहरुले ७ महिनामै स्वाहा पारेका हुन्। तर विकास निमार्णका काममा भने घोडाघोडी नगरपालिकाले सन्तोषजनक काम गरेको पाईएको छैन्। कुल ७१ करोड बजेट रहेको घोडाघोडी नगरपालिकाले विकास निमार्णमा अहिलेसम्म साढे ७ करोड मात्रै खर्च गरेको छ। विकास निमार्णका लागि घोडाघोडी नगरपालिकाले ४२ करोड रकम बिनियोजन गरेको थियो। जनप्रतिनिधिहरु सुविधा भोगी भएका कारण विकास निमार्णका लागि छुट्याएको ठुलो रकम खर्च हुन नसकेको हो। तर तलव तथा बैठक भत्ताका लागि छुट्याईएको मध्ये प्राय सबै शिर्षकका रकमहरुमा झण्डै सत प्रतिशत खर्च भएको पाईएको छ ।