गौरीगंगा नगरपालिकाद्धारा लाखौं रुपैयाँ एनजिओलाई वाड्ने तयारी (नामावली सहित)
कैलालीको गौरीगंगा नगरपालिकाले झण्डै साढे ८८ लाख रकम एनजिओलाई वितरण गर्ने तयारी गरेको छ । नगरपालिकाका विभिन्न वडामा काम गर्ने भन्दै ६ ओटा शिर्षकमा ८८ लाख ३५ हजार रकम गैरसरकारी संस्थालाई वितरणको तयारी भईरहेको हो ।
नगरपालिकाले स्वरोजगार तथा जनचेतनामुलक कार्यक्रम, युवा तथा खेलकुद विकास कार्यक्रम र लक्षित वर्गका कार्यक्रमका नाममा ठुलो रकम गैरसरकारी संस्थालाई वितरणका लागि प्रस्ताव स्वीकृत गरिसकेको छ । स्वीकृत गरिएको कार्यक्रम र रकम नगरपालिकाकाजनप्रतिनिधिहरुका आसेपासे कार्यकर्ताका संघ संस्थालाई मात्रै वितरण गर्ने तयारी भईरहेको स्रोतले जनाएको छ ।
कैलालीको गौरीगंगा नगरपालिकाले जिल्लाभरीका विभिन्न गैरसरकारी संघ संस्थाका नाममा ५० हजारदेखी ३ लाख सम्मका कार्यक्रमका लागि झण्डै ९० लाख रकम वितरणको तयारी गरेको हो । नगरपालिकाले स्वीकृत गरेका धेरै कार्यक्रमहरु एउटै संस्थालाई दिईएको पाईएको छ भने अधिकाश कार्यक्रमहरु फरक शिर्षकबाट दोहो¥याएर दिईएको छ ।
सिलाई बुनाई तालिमका लागि मात्रै गौरीगंगानगरपालिकाले १४ ओटा संस्थालाई अलग अलग गरी २२ लाख रकम वितरण गर्ने तयारी गरेको छ । उनीहरुलाई १ लाख देखी ३ लाखसम्म रकम छुट्याईएको छ । यस्तै कुनै शिर्षक नखुलाएर क्षमता अभिवृद्धि तालिमका नाममा मात्रै पनि ५ ओटा कार्यक्रम स्वीकृत गरिएको छ ।
महिलाहरुका लागि क्षमता अभिवृद्धि तालिम, वडा नम्बर १० मा क्षमता विकास कार्यक्रम, संस्कृति संरक्षणका लागि क्षमता विकास कार्यक्रम, महिलाहरुको क्षमता अभिवृद्धि कार्यक्रम लगायतका शिर्षकमा ४ लाख रकम छुट्याईएको हो । तालिमको शिर्षक नै नखुलाएर क्षमता अभिवृद्धि गर्ने भन्दै गरिएका प्रस्ताव स्वीकृत गर्ने गौरीगंगा नगरपालिकाले यसरी वितरण गरिने कार्यक्रमले कति जनाको कुन किसिमको क्षमता बृद्धि हुने हो त्यसप्रति कुनै ध्यान दिएको छैन ।
यसबाट गौरीगंगानगरपालिकाले स्वीकृत गरेको कार्यक्रम र रकम नगरपालिकाका जनप्रतिनिधिहरुका आसेपासे कार्यकर्ताको भरणपोषणका लागि मात्रै उनीहरुका संघसंस्थालाई वितरण भएको पुष्टि हुन्छ ।
सरकारी कार्यालयहरुले बिगत देखी नै करोडौ रकम गैरसरकारी संस्थाहरु मार्फत यस्तायस्तै कार्यक्रमका लागि खर्च गर्ने गरेका छन । तर ती कार्यक्रमहरुको उपलव्धी भने शून्य जस्तै हुने गरेको छ । अहिलेका स्थानीय तहले विगतको नियतिवाट पाठ सिकेर प्रभावकारी ढंगले उपलब्धीमुलक क्षेत्रमा लगानीगर्नुको साटो क्षमता अभिवृद्धिका नाममा करोडौ रकम खर्च गर्नु उचित मान्न सकिन्न ।
कुन कुन संस्थालाई कति दिने तयारी भईरहेको छ ? फोटोमा हेर्नुहोस्