सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश सभामा एमालेका अब ११ सांसद, कांग्रेसले गुमायो सिट संख्या

२०८१ वैशाख १७, ०६:४१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेलाई लाभ पुगेको छ।

बझाङमा शनिबार सम्पन्न उपनिर्वाचनबाट एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजय भएपछि प्रदेश सभामा सो पार्टीलाई लाभ पुगेको हो। बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी निर्वाचित भएका हुन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन्।

२०७९ को चुनावमा कांग्रेसले जितेको स्थानमा विजय हासिल गर्दा सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई एक सिट लाभ भएको छ। सुदूरपश्चिममा एमालेका अब ११ सांसद हुनेछन्। कांग्रेसले भने सिट संख्या गुमाएको छ। अन्तिम मत परिणाम अनुसार एमालेका दमनबहादुर भण्डारीले ११ हजार ६ सय १३ मतले विजयी भएका छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका थिए। मत गणना सुरु भएदेखि नै यी दुइ उम्मेदवारबिच कडा प्रतिस्पर्धा भएको थियो। त्यस्तै नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाको ३ हजार ९ सय ६७ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले भने २ हजार ५ सय १३ मत मात्र प्राप्त गरेका छन्।

विभिन्न ११ दलबाट ११ जना उम्मेदवारबिच प्रतिस्पर्धा भएको थियो। २०२४ साल जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिकाको भण्डारी गाउँमा जन्मिएका नवनिर्वाचित उम्मेदवार भण्डारीले २०४१ सालको एसएलसी दिएपछि अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए। नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववियुमा आवद्ध भण्डारीले बीएल गरेपछि बझाङ फर्किएर सामाजिक काममा संलग्न भएका थिए।

भण्डारी २०५४ सालमा तत्कालीन मटेला गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। त्यसयता पार्टीको राजनीतिमा संलग्न उनले कुनै पनि संसदीय पदको जिम्मेवारी पाएका थिएनन्। २०५५ सालमा एमाले जिल्ला कमिटी सदस्य निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटी सचिव बनेका उनी २०६२ सालमा राष्ट्रिय युवा संघ नेपालको अञ्चल कमिटी सचिव भएका थिए।

२०६९ सालमा भएको सातौं जिल्ला अधिवेशनबाट एमाले जिल्ला सचिव हुँदै हाल भण्डारी हाल बझाङ एमाले अध्यक्षको जिम्मेवारीमा छन्। तत्कालीन प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि शनिबार रिक्त स्थानका लागि उपनिर्वाचन भएको हो।

कांग्रेसका उम्मेदवार अभिषेक सिंह पूर्वसांसद पृथ्वीबहादुर सिंहका छोरा हुन्। गत निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका पृथ्वी सिंहले १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत प्राप्त गरेर पराजित भएका थिए।

कमेन्ट लोड गर्नुस