सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर २६६ मतको अन्तरले विजयी

२०८१ वैशाख १७, ०१:५३ खबर संवाददाता

धनगढीः बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्।

भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गरेका हुन्। भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गरेका छन्। त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे। यस्तै माओवादीका जनक बुढाले ३ हजार ९ सय ६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत ल्याएका छन् ।

निर्वाचन आयोगले भने अन्तिम मतपरिणाम सार्वजनिक गरेको छैन। शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो।  ११ दलका उम्मेदवार थिए। २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो ।

कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन् । गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए।

कमेन्ट लोड गर्नुस