सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको भौतिक पूर्वाधार मन्त्रीमा नाउपाका कैलाश नियुक्त, टीका रुष्ट

२०८१ वैशाख ७, ०९:२७ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई भौतिक मन्त्रीमा नियुक्त गरेका हुन्। उनलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीवार राति शपथ ग्रहण पनि गराएका छन्।

नागरिक उन्मुक्तिका सात जना सांसदमध्ये अध्यक्ष रन्जिता श्रेष्ठ पक्षधर कैलाश चौधरी र टीका थापाले सोडारीलाई समर्थन गरेका हुन्। दुबैलाई मन्त्रीमा नियुक्त गर्ने सहमतिअनुसार सांसद थापा र कैलाश चौधरीलाई मुख्यमन्त्री सोडारीले शपथ लिए लगत्तै शपथ खुवाउने तयारी थियो। मन्त्री हुने कुरामा ढुक्क भएर प्रदेश प्रमुखको कार्यालय पुगेकी उन्मुक्तिकी टीका थापाले भने शपथ लिने अवसर पाइनन्। कैलाश चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी नपाए शपथ नलिने अडान लिएपछि थापाले विना विभागीय मन्त्रीको शपथ चाहेर पनि लिन पाइनन्।

No description available.

शपथ लिन ठिक्क भएर बसेकी थापालाई टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौराले थापालाई सल्लाह गर्ने भन्दै बाहिर लगेका थिए। मन्त्रालयको टुङ्गो नलागुञ्जेल शपथ नलिने अडान कैलाश चौधरी पक्षले राखेपछि सांसद थापा भने मन्त्री हुन नपाएको भन्दै आक्रोशित भएर बाहिर निस्केकी थिइन्।

प्रदेश प्रमुखको कार्यालयबाट राति करिव ८ बजे निस्केकी थापाले केही समयपछि सामाजिक सञ्जालमा सरकारलाई समर्थन दिन नसक्ने व्यहोरा सार्वजनिक गरेकी छिन्। सांसद थापा रुष्ट भएको थाहा पाउने वित्तिकै कैलाश चौधरीलाई राति करिव ९ बजे बोलाएर उनले मागेकै भौतिक पूर्वाधार विकास मन्त्रीको शपथ खुवाइएको हो। शपथ प्रकरणपछि रन्जिता पक्षका दुई सांसदमा समेत तत्काल फुट देखिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस