सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा उपनिर्वाचनः एमालेभन्दा कांग्रेसबाट तीन गुणा बढीको नाम सिफारिस

२०८० चैत्र ६, ०१:३२ खबर संवाददाता

बझाङः आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट १० जनाको नाम सिफारिस गरिएको छ।

जिल्ला कार्यसमितिको सोमबार बसेको बैठकले निर्वाचनमा उम्मेदवारका लागि आंकाक्षी देखिएकाको नाम सिफारिस गरेको हो। केन्द्रीय समितिको परिपत्रअनुसार तीनजनाको नाम सिफारिस गर्न भने पनि आंकाक्षीबिच सहमति जुट्न नसकेपछि जिल्ला कार्य समितिले १० जनाको नाम सिफारिस गरेको कांग्रेस प्रवक्ता रमानन्द जोशीले बताए।

उनका अनुसार सिफारिस हुनेमा जगतप्रसाद जोशी, सत्यराज भण्डारी, शान्ति बोहरा (पुजारा), अभिषेकबहादुर सिंह, नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह (जगत), लोकेन्द्रबहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडा रहेका छन्। बझाङ ‘१’ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको गत असार ५ गते दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

त्यस्तै उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवारको नाम यसअघि नै सिफारिस गरिसकेको छ। एमालेले उपनिर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको हो। उम्मेदवारको लागि ६ जना आकांक्षी थिए। निर्वाचन क्षेत्रिय समन्वय कमिटीमा मतदान हुँदा बढी मत पाउने दमन भण्डारी, जुना जाग्री र राधा विष्टको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको एमाले बझाङ जिल्ला कमिटीका सचिव आनन्द विकले बताए।

मतदानमा भण्डारीले ९४, जाग्रीले ६८ र विस्टले ६१ मत प्राप्त गरेका थिए। यस अघिको प्रदेश सभा निर्वाचनमा उम्मेदवार रहेका अफिलाल ओखेडाले ६० मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारका आकांक्षीहरू गोकुल सिंहले २८, प्रयागराज जोशीले १३ मत प्राप्त गरेको र ९ मत बदर भएको निर्वाचन कमिटीले जनाएको छ।

गत निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंहसँग पराजित अफिलाल ओखेडा प्रदेश सभा उपनिर्वाचनको लागि बलियो दाबेदारको रुपमा रहेका थिए। चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिने, २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहने जनाइएको छ। वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान गर्ने निर्वाचन आयोगको योजना छ।

कमेन्ट लोड गर्नुस