सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ७४.७१ किमी हुलाकी राजमार्गको प्रगति केबल २१ किलोमिटर मात्र

२०८१ वैशाख १६, ०६:१३ कमल सावद

धनगढीः कैलालीमा हुलाकी राजमार्गको २१ किलोमिटर सडक मात्र कालोपत्र भएको छ।

कुल ७४ दशमलव ७१ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरिएकोमा अहिलेसम्म प्रगति २१ किलोमिटर मात्र कालोपत्र भएको हो। बजेट नभएको भन्दै ५३ दशमलव ७१ किलोमिटर सडकको प्रभावकारी रुपमा काम हुन सकेको छैन्। धनगढीको क्याम्पस चोक–कनरी खोला १२ किलोमिटर सडक स्तरवृद्धिका लागि २०७७ असार १४ गते ठेक्का सम्झौता भएको हो।

स्वछन्द–जोशी जेभी, महेन्द्रनगरले ३२ करोड ३० लाख ८३ हजारमा सडक कालोपत्रका लागि ठेक्का पाएको हो। तर, १२ किलोमिटरमा ६ दशमलव ५० किलोमिटर सडकको मात्र काम पुरा भएको छ। निर्माण कम्पनीसँगको सम्झौता अवधि भने २०८१ जेठ ३० गते सकिएको छ।

पुनः समय थप गर्न फाइल विभागमा पठाइएको छ। हुलाकी राजमार्ग, योजना कार्यालय, धनगढीका सूचना अधिकारी बर्खबहादुर खडायतले चार लेन कालोपत्रको काम सकिएको बताए। उनले भने, ‘धनगढी–सत्ती सडक खण्डको पहिलो नम्बर र लम्की–टीकापुर खण्डको पहिलो खण्डको काम सकिएको छ। बाँकी क्षेत्रमा काम जारी छ।’

हुलाकी राजमार्गको अर्काे १२ किलोमिटर सडक कालोपत्रका लागि २७ करोड ८५ लाख ६२ हजारमा स्वछन्द–जोशी, महेन्द्रनगरसँग २०७७ असार १४ गते नै ठेक्का सम्झौता भएको हो। तर अहिलेसम्म प्रगति ४० प्रतिशत मात्र देखिएको छ। उक्त सडक खण्डको म्याद २०७९ मङ्सिर १३ गते सकिएको हो। म्याद थपका लागि फाइल निर्देशनालय पठाएको छ।

त्यस्तै हुलाकी राजमार्गको कैलाली खण्डमा १३ किलोमिटर सडक कालोपत्रका लागि कालिका–जोशी जेभीसँग २०७७ असार १४ गते सम्झौता भएको थियो। ३२ करोड ६२ लाख ३९ हजारमा ठेक्का सम्झौता भएको सो सडक खण्डको प्रगति ३० प्रतिशत देखिएको छ। २०७९ मङ्सिर १३ गते सम्झौताको समय सकिएको थियो। म्याद थप भने गरिएको छैन। निर्माण कम्पनीहरुले भुक्तानी नपाएकाले काम सुस्त छ।

धनगढी–सत्ती खण्डमा चार प्याकेजमा हुलाकी राजमार्ग स्तरवृद्धिका लागि ठेक्का सम्झौता गरिएको हो। उनले भने, ‘प्रगति फरक–फरक छ। ठेक्का नम्बर ६, ७ र ८ को काम जारी छ। टीकापुरतिरको काम पनि जारी छ।’ लम्की–टीकापुर खण्डको २९ किलोमिटरमा ८ किलोमिटरको काम सकिएको छ। लम्की क्षेत्रको पहिलो प्याकेजको काम सकिएको हो।

लम्की–टीकापुर–खक्रौला १० किलोमिटर सडक कालोपत्रका लागि एपेक्स–खड्का कृष्ण जेशी, बाँकेसँग ४० करोड ९९ लाख नौ हजारमा ठेक्का सम्झौता भएको थियो। २०७७ जेठ २६ गते सम्झौता गरिएको उक्त खण्डको समय २०७९ मङ्सिर २५ गते सकिएको छ। तर, कामको प्रगति ४८ प्रतिशत मात्र देखिएको छ। लम्की–टीकापुर खण्डको ११ दशमलव ७१ किलोमिटर सडक कालोपत्रका लागि २०७७ असार १४ गते सम्झौता गरिएको थियो।

३३ करोड २० लाख ६६ हजारमा सम्झौता गरिएको सो सडक खण्डको प्रगति ३५ प्रतिशतभन्दा बढी हुन सकेको छैन्। २०७९ मङ्सिर २५ गते समय सकिएको छ। अहिलेसम्म भ्याद थप भने गरिएको छैन। बजेट अभावका कारण काम प्रभावित बन्न पुगेको आयोजना कार्यालयको दाबी छ।

हुलाकी राजमार्ग, योजना कार्यालय, धनगढीका सूचना अधिकारी बर्खबहादुर खडायतले १५ करोड चालु आर्थिक वर्षको भुक्तानी दिन बाँकी रहेको बताए। उनले भने, ‘पोलमा समस्या थियो। अहिले बजेटको समस्या छ। थप बजेट आएको छैन। १५ करोड भुक्तानी दिन बाँकी नै छ।’

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस