सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चार वर्षमा १२७९ जना लागुऔषधसहित पक्राउ

२०८१ वैशाख १३, ०१:२९ कमल सावद

धनगढी : कैलालीमा चार आर्थिक वर्षको हालसम्म एक हजार २ सय ७९ जना लागुऔषधको कारोबार तथा सेवनकर्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ देखि चालु आर्थिक वर्ष २०८०/०८१ सम्म एक हजार २ सय ७९ जना लागुऔषधसहित पक्राउ परेका हुन। बर्सेनि लागुऔषधका कारोबारी तथा सेवनकर्ताहरूको सङ्ख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा लागुऔषध (ब्राउन सुगर, नाईट्रोभेट, चरेस)मा ९१ मुद्‍दा दर्ता भएकोमा ८९ जना पक्राउ परेका थिए। जसमा ८३ पुरुष र ६ जना महिला रहेका छन्। उनीहरुको साथबाट तीन सय ४६ ग्राम र ७८६ मिलिग्राम ब्राउनसुगर, १५ किलोग्राम चरेस लगाएतका लागुऔषध फेला परेका थिए।

आर्थिक वर्ष २०७८/०७९ मा लागुऔषध मुद्गदाको सङ्ख्या ३१५ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा लागुऔषधको मुद्दाको सङ्ख्या बडेको हो। उक्त आर्थिक वर्षमा दुई सय १ मुद्दा दर्ता भएकोमा ३१५ जना पक्राउ परेका छन्। जसमा २९७ जना पुरुष १८ जना महिला रहेका छन्। उनीहरुको साथबाट प्रहरीले ४६७ दशमलव ६१२ ग्राम खैरोहिरोइन, ३५५५ नाइट्रोभेट, ४४ दशमलव ४७५ ग्राम चरेस लगाएतको लागुऔषध फेला पारेको छ।

आर्थिक वर्ष २०७९/०८० मा ५२२ जना लागुऔषधसहित पक्राउ परेका छन। मुद्गदाको संख्या ३४७ रहेको छ। कैलाली प्रहरीले २०७९/०८० मा ४७३ पुरुष र ४९ महिलालाई लागुऔषधसहित पक्राउ गरेको हो। उनीहरूको साथबाट ७९१ दशमलव ८४१ ग्राम खैरोहेरोइन, ६७९ ट्याब्लेट नाइट्रोभेट, ४८ दशमलव ३३१ ग्राम चरेस लगाएतको लागुऔषध बरामद गरिएको छ।

कैलालीमा चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म ३५३ जना लागुऔषधसहित पक्राउ परेका छन्। उनीहरूमा ३३० पुरुष २३ जना महिला रहेका छन्। कैलाली प्रहरीले २६९ लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएका छन्। उनीहरूको साथबाट कैलाली प्रहरीले २७ दशमलव ३३३ ग्राम चरेस, २६० दशमलव ६३७ ग्राम खैरोहेरोइन, ८९ ट्याब्लेट नाइट्रोभेट प्रहरीले बरामद गरेको छ। कैलाली प्रहरीका प्रमुख, एसपी पदमबहादुर विष्टले भारतीय प्रहरीसँग सहकार्यमा लागुऔषधको मूल नै सफा गर्ने काम हुँदै गएको बताए।

भारतमा पक्राउ परेका लागुऔषधका कारोबारीका कारण धनगढीमा समेत लागुऔषधको आपूर्तिमा कमी आएको दाबी गरे। उनले भने, ‘खुल्ला सीमानाका कारणले भारतबाट निर्वात रूपमा लागुऔषध ल्याउन सहज छ। मुहानमा सफा गर्न भारतका सुरक्षाकर्मीसँग छलफल गरेका थियौ। हामीले लागुऔषधको तस्करहरूलाई कारबाहीका लागि अनुरोध गरेका थियौ। उहाँहरूले कारबाही थाल्नु भएको छ।’

विद्यालय र क्याम्पस उमेर समूहका किशोर–किशोरीहरू लागुऔषधको दुर्व्यसनीमा परेको देखिएको छ। प्रेममा असफल, परिवारको बेवास्ता र साथीहरूको लहैलहैमा उनीहरू दुर्व्यसनीमा पर्दै आएका हुन। पछिल्ला दिनहरूमा किशोरी दुर्व्यसनीहरूको सङ्ख्यासमेत बढ्दै गएको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस