सुदूर नेपाललाई विश्वसँग जोड्दै

दैजी–छेला औद्योगिक क्षेत्र निर्माण अलपत्र, वनको क्षेत्रफल नै भएन एकिन

२०८० चैत्र ६, ०६:०६ कमल सावद

धनगढीः नेपाल सरकार, मन्त्रीपरिषद बैठकबाट २०७२ चैत १ गते कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय भयो।

पूर्वमा मुक्तकमैया बस्ती, पश्चिममा दैजी–जोगबुढा सडक, उत्तरमा वन र दक्षिणमा चाँदनीफाँटा बस्तीभित्रको ९ सय बिघामा औद्योगिक क्षेत्र स्थापना गर्ने बैठकको निर्णय थियो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १० गते औद्योगिक क्षेत्र निर्माण गर्न शिलान्यास समेत गरे। तर, मन्त्रीपरिषद्बाट निर्णय भएको ८ वर्ष र शिलान्यास भएको तीन वर्ष वितिसक्दा पनि निर्माण कार्य अलपत्र छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्रको काम अगाडि नबढेको बताए। उनले भने, ‘मैलै जुन ठाउँबाट काम गर्न खोजेको थिए। त्यसैमा सिमित बन्न पुगेको पाए। छेलाको सम्पर्क कार्यालय खोल्ने योजना बनाएको थिए। तर बाँकी काम अगाडि बढेको छैन।’

भण्डारी आफै राज्य मन्त्री हुँदा औद्योगिक क्षेत्र निर्माण गर्ने भन्दै शिलान्यास गरिएको थियो। तर, तीन वर्षसम्म रुख कटानी गर्न पर्याप्त अध्ययन नभएको भन्दै काम अघि बढ्न सकेको छैन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सामुदायिक वनको प्रयोग हुने जग्गाको आधिकारीक विवरण नदिएकाले रुख गणनाको काम पूरा नभएको दाबी छ। रुख गणना तथा कटानको काम नभएपछि औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र बन्न पुगेको हो।

डिभिजन वन कार्यालय, कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले भने, ‘कुन सामुदायिक वनको कति जग्गा हो? त्यो नक्सा चाहिएको हो। लगत आएको छ। तर, उहाँहरुले नक्सा नपठाएकाले फाइल माथि पठाएका छैनौ।’ दैजी–छेलामा औद्योगिक क्षेत्र निर्माण गर्न प्रस्ताव गरिएको वर्षौ वितिसकेको छ। औद्योगिक क्षेत्र निर्माणका लागि जनचेतना सामुदायिक वनको १९ हजार आठ सय २ र वेदकोट सामुदायिक वनको २३ हजार चार सय ५५ गरेर ४३ हजार २ सय ५७ रुख कटान गर्नुपर्ने देखिएको छ।

डिभिजन वन कार्यालयले रुख तथा पोलहरुमा छाप लगाएको छ। तर, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेडले औद्योगिक क्षेत्रका लागि उपयोगमा आउने वनको क्षेत्रफल नदिएपछि फाइल डिभिजन वन कार्यालयमै अड्किएको छ। अवस्थीले भने, दिन्छौ भन्छन। तर, पठाउनुभएको छैन। लगत आएको छ।

तर, कुन सामुदायिक वनको कति हो? नक्सा छैन।’ २०५१ सालदेखि दैजी–छेलामा औद्योगिक क्षेत्र स्थापना गर्न राजनीतिक पार्टी तथा संघसंस्थाहरुले एजेण्डा नै बनाएका थिए। तर, २९ वर्षसम्म रुख कटानीको कामसमेत सुरु भएको छैन। छेलामा पहिलो चरणमा सडक, नाली र भौतिक संरचना निर्माण हुने क्षेत्रमा मात्रै रूख कटानी गर्ने तयारी छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस