आज सरस्वती पुजा
माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज मनाईदैछ।। बसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ। सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्छ। विद्यालय नपठाइएका साना बालबालिकालाई सरस्वति पुजाकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि छ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।
विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवी का रूपमा आराधना गर्छन्।सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ सरस्वति पुजाको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ।