धनगढीमा बढ्दैछन् ‘ट्राभल हिस्ट्री’ नभएका संक्रमित,अहिले सम्म ६३ जना पुगे
धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ट्राभल हिस्ट्री नभएका संक्रमितको संख्या बढ्दै गएको छ। प्रदेशमै पहिलो पटक गत चैत १४ गते कोरोना संक्रमण देखिएको धनगढीमा आईतबार सम्म दुई सय ३० जनामा संक्रमण पुष्टि भएको छ।
उनीहरु मध्ये ६३ जना ट्राभल हिस्ट्री नभएका संक्रमित रहेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए। जुन कुल संक्रमितको २७ प्रतिशत हो।
आईतबार मात्र कोरोना पुष्टि भएका १० मध्ये ८ जनाको ट्राभल हिस्ट्री भेटिएको छैन। उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आईतबार कोरोना पुष्टि भएका वडा नम्बर ३ का ५४ वर्षीय महिला भारत र वडा नम्बर ५ का २३ वर्षीय पुरुष काठमाडौँबाट फर्किएको भएपनि अन्यको ट्राभल हिस्ट्री छैन्।
उनीहरु मध्ये दुई स्टाफ नर्स सहित चार जना निसर्ग अस्पतालमा कार्यरत कर्मचारी हुन्। एकजना धनगढीको चटकपुरमा खाद्यान्न पसलमा कार्यरत युवक, अर्का जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृत, दुई जना वडा नम्बर ५ की युवती र उनका दाजु हुन्।
यसरी ट्राभल हिस्ट्री नभएका संक्रमितमा स्थानीय व्यापारी, शिक्षक, स्वास्थ्यकर्मी, प्रहरी, बैँक तथा वित्तिय संस्थाका कर्मचारी, सरसफाईकर्मी र केही सर्वसाधारण रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
चिकित्सकहरुले धनगढीमा ट्राभल हिस्ट्री नभएका संक्रमित भेटिनुले समुदाय स्तरमा कोरोना फैलिरहेको संकेत देखिएको बताएका छन्। तर अहिले सामुदायिक संक्रमणको पनि कलस्टर तहमा रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न सकेमा महामारीको चरणमा प्रवेश गर्नबाट रोक्न सकिने उनीहरु बताउँछन्।
उपमहानगरपालिकाका अनुसार धनगढीका सबै वडामा कोरोना फैलिएको छ। आईतबार सम्म वडा नम्बर १ मा ९ महिला र १६ पुरुष गरी २५ जना, वडा नम्बर २ मा ३ महिला र ६ पुरुष गरी ९ जना, वडा नम्बर ३ पाँच महिला र १४ पुरुष गरी १९ जना, वडा नम्बर ४ मा ६ महिला र ८ पुरुष गरी १४ जना, वडा नम्बर ५ मा ८ महिला र ११ पुरुष गरी १९ जना, वडा नम्बर ६ मा चार पुरुष, वडा नम्बर ७ मा ५ महिला र ७ पुरुष गरी १२ जना छन्।
वडा नम्बर ८ मा ३ महिला र ४ पुरुष गरी ७ जना, वडा नम्बर ९ मा तीन महिला र ६ पुरुष गरी ९ जना, वडा नम्बर १० मा ३ पुरुष, वडा नम्बर ११ मा ३ महिला र ५ महिला गरी ८ जना संक्रमित रहेको उपमहानगरपालिकाले जनाएको छ।
यस्तै नम्बर १२ मा १३ महिला र २४ पुरुष गरी ३७ जना, वडा नम्बर १३ मा ४ पुरुष, वडा नम्बर १४ मा १२ महिला र १३ पुरुष गरी २५ जना वडा नम्बर १५ मा दुई महिला र चार पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ।
वडा नम्बर १६ मा तीन पुरुष, वडा नम्बर १७ मा एक महिला, वडा नम्बर १८ मा ८ महिला र १० पुरुष गरी १८ जना तथा वडा नम्बर १९ मा तीन महिला र तीन पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ।