धनगढीमा सामुदायिक परीक्षणको तयारी, पहिलो चरणमा ८ वडा छनौट
धनगढीः धनगढी उप–महानगरपालिकाले समुदाय स्तरमा कोरोना परीक्षण गर्ने भएको छ। उप–महानगरपालिकाले समुदायिक संक्रमणको अवस्था पत्ता लगाउन पहिलो चरणमा नगरका ८ वटा वडामा परीक्षण थाल्ने तयारी गरिएको जनाएको छ।
उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले पहिलो चरणमा वडा नम्बर १, २, ९,१०, १२, १४, १८ र १९ मा कोरोना परीक्षण गर्ने निर्णय भएको जानकारी दिए।
उपाध्यायले यी वडामा भेटिएका संक्रमितहरुका परिवार र छिमेकीका गरी दुई÷दुई जना सदस्यको परीक्षण गरिने तयारी रहेको बताए। अहिले एउटा वडामा करिब ५० जनाको नमूना परीक्षण गर्दै ती वडामा सामुदायिक संक्रमणको अवस्था यकिन गरिने जनाए।
तर परीक्षण कहिलेबाट सुरु गर्ने भन्ने विषय टुङ्गिएको छैन्। उप–महानगरपालिकासँग पर्याप्त प्राविधिक नभएकाले व्यवस्थापन गर्दै परीक्षणलाई अगाडी बढाईने उपाध्यायले बताए।
उनले उप–महानगरपालिकामा भएका दुई जना ल्याब ट्याक्नीसियन अहिले संक्रमितहरुको सम्पर्कमा आएकाहरुको नमूना संकलनमा खटिएको बताए।
तर उनले सामुदायिक परीक्षणका लागि थप जनशक्ति आवश्यक पर्ने बताउँदै प्रदेश सरकार र स्वास्थ्य कार्यालयसँग समन्वय भईरहेको बताए।
धनगढीमा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना पुष्टि हुन थालेपछि समुदाय स्तरमा संक्रमण फैलिदै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन्।