सुदूर नेपाललाई विश्वसँग जोड्दै

आपराधिक समूहसँग मिलेको आरोपमा भैँसेपाटी प्रभागकी इन्स्पेक्टरलाई निलम्बनको सिफारिस

२०८१ असोज १०, ०२:०१

काठमाण्डौंः आपराधिक समूहसँग मिलेर पैसा असुलेको आरोपमा ललितपुरको प्रहरी प्रभाग बुङमती ९भैँसेपाटी०की इन्स्पेक्टर विनुकुमारी शाहीलाई निलम्बनको सिफारिस भएको छ।

प्रारम्भिक छानबिनमा उनले आर्थिक लेनदेन गरेको खुलेपछि जिल्ला प्रहरी परिसर ललितपुरले निलम्बनको प्रक्रिया अघि बढाएको हो। अधिकृत तहको निलम्बन गृह मन्त्रालयबाट हुने प्रहरी नियमावलीको प्रावधान छ। साथै घटनाको विषयमा छानबिन समितिसमेत गठन भएको छ।

डिएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरी छानबिन अघि बढाइएको ललितपुर परिसरका एसपी नरेशराज सुवेदीले बताए। भैँसेपाटी प्रभागले गत ७ असोजमा एक व्यवसायीलाई शान्ति सुरक्षासम्बन्धी मुद्दामा पक्राउ गरी थुनामा राखेर बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख लेनदेन गरेर छाडेको खुलेको थियो।

घटनामा संलग्न दुईजनालाई पक्राउ गरी आपराधिक लाभ मुद्दामा अनुसन्धान अघि बढाइएको र प्रहरीको भूमिकाको विषयमा छानबिन भइरहेको एसपी सुवेदीले बताए। प्रहरी स्रोतका अनुसार छानबिन समितिले इन्स्पेक्टरको मोबाइलसमेत नियन्त्रणमा लिइसकेको छ।
के थियो घटना?
केही महिनाअघि सुनसरीमा  चिनजान भएकी एक युवतीले ती व्यापारीलाई भैँसेपाटीमा भेट्न बोलाउँछिन् । त्यहाँ पुगेलगत्तै प्रहरीले उनलाई पक्राउ गरी भैँसेपाटी प्रभाग लैजान्छ। जहाँ बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ हुन्छ। अनुसन्धानमा खटिएका अधिकारीहरूका अनुसार भेट्न बोलाएकी युवतीले ६० लाख रुपैयाँ माग्छिन्। पछि ३० लाख रुपैयाँमा सहमति हुन्छ।

ती व्यापारी युवतीसँग घुम्न गएकाले आफू फस्न सक्ने डरले पैसा बुझाउन तयार भएको देखिन्छ। लेनदेनको बार्गेनिङ प्रहरी अधिकारीकै अगाडि भएको प्रारम्भिक छानबिनमा देखिएको छ। ३० लाखमध्ये २० लाख रुपैयाँ युवतीका साथीको खातामा जम्मा हुन्छ भने १० लाखको चेक उनलाई दिएपछि व्यापारी छुट्छन्।

जिल्ला प्रहरी परिसरले प्रभागमा बदमासी भएको सूचना पाउँछ, सोही आधारमा पक्राउ परेका व्यापारीसहित सबैलाई परिसरमा पठाउन निर्देशन दिन्छ। प्रारम्भिक सोधपुछमै घटना हनी ट्रयापिङ भएको र त्यसमा प्रहरीले सहयोग गरेको खुलेपछि दुईजनालाई परिसरले थुनामा राखेर अनुसन्धान अघि बढाएको हो । युवतीले लिएको चेकसमेत बरामद भएको छ भने पैसा हालिएको खातासमेत रोक्का राखिएको  छ।

घटनाका एक योजनाकार फरार छन्। ती व्यक्तिलाई भगाउनसमेत भैँसेपाटी प्रभागको भूमिका देखिएको छ। प्रारम्भिक छानबिनमै प्रभागकी इन्स्पेक्टर शाहीको मिलेमतो देखिएको छ। सुरुमा शान्ति सुरक्षासम्बन्धी ठाडो निवेदनका नाममा उनले ती व्यापारीलाई थुनामा राखेकी थिइन्। जब कि ठाडो निवेदनका आधारमा थुनामा राख्न पाइँदैन। अर्कोतर्फ लेनदेनको डिलसमेत प्रभागभित्रै भएको देखिएको छ।

पक्राउ गरिएका व्यक्तिको गाडी फिर्ता गर्नसमेत डेढ लाख रुपैयाँ घुस लिएको प्रहरी स्रोत बताउँछ। घटनामा प्रहरीको समेत मिलेमतो देखिएमा उनीहरूलाई समेत मुद्दा चलाउने तयारी छ। हनी ट्रयापमा फसाउने समूहले प्रहरीसँग छलफल गरेर नै योजना बनाएको देखिन्छ। बलात्कार मुद्दा भए पनि घटनास्थल सुनसरी भएको र आरोपी भनिएका युवकसमेत भैँसेपाटीको क्षेत्रमा नबस्नेमा किन सोही कार्यालयमा उजुरी दिन लगाएर पक्राउ गरियो भन्ने विषय सबैभन्दा रहस्यमय छ। प्रभागकी इन्स्पेक्टर शाहीले घटनाको विषयमा परिसरलाई समेत जानकारी नगराएको परिसर स्रोत बताउँछ। जब कि परिसरको निर्देशनमा मात्र ठाडो निवेदनमा छलफल गराउने प्रावधान छ। –नयाँ पत्रिकाबाट

कमेन्ट लोड गर्नुस