सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एडीबीले थप ३२ किलोमिटर सडक कालोपत्र गर्ने, काँग्रेस नेतृ देउवाको पहल सफल

२०८० जेठ ११, ०६:५७

धनगढीः  धनगढीमा थप ३२ किलोमिटर सडक निर्माण गर्न एसियाली विकास बैंक सहमत भएको छ। एसियाली विकास बैंकले थप लगानी नगर्ने भन्दै फिर्ता हुने निर्णय गरेको थियो।

तर, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डाक्टर आरजु राणा देउवाको सहजीकरणमा थप ३२ किलोमिटर सडक निर्माण गर्न एसियाली विकास बैंक सहमत भएको हो। अबको दुई वर्षमा दोस्रो प्याकेजमा धनगढीका विभिन्न १६ वटा सडक निर्माण हुने भएका हुन्।

धनगढीका सडक निर्माण, डुबान समस्या हल र ढल निकासको समस्या समाधन गर्ने एसियाली विकास बैंक र विश्व बैंकको लगानी भित्रिने भएको नगरप्रमुख गोपाल हमालले बताए। ‘हामीले धनगढीको विकास रोकिने भो भन्ने कुरा माननीय डाक्टर राणासँग भनेका थियौँ। उहाँकै पहलमा एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर र अन्य अधिकारीसँग छलफल भएको छ,’ उनले भने, ‘छलफलबाट एडिबीले थप दुई वर्षमा ३२ किलोमिटर सडक निर्माण गर्ने भएको हो।’

क्षेत्रीय सहरी विकासमार्फत सडक निर्माण गर्न सन् २०२० जुलाई १२ तारिखमा एसियाली विकास बैंकसँग सम्झौता भएको थियो। एसियाली विकास बैंकको ऋण सहयोगमा धनगढीको ४२ किलोमिटर सडकमध्ये जम्मा १० दशमलव ५ किलोमिटरमा मात्र कालोपत्र गर्ने सम्झौता भएको थियो। बाँकी ३२ किलोमिटर सडक दोस्रो चरणमा कालोपत्रको ठेक्का हुने भनिएको थियो। 

सडक क्षेत्राधिकार खाली गर्नमा बढी समय खर्च भएको थियो। यसअघि नै एडिबीले दोस्रो चरणको सडक निर्माणका लागि बजेट नदिने भन्दै फिर्ता हुने निर्णय गरेको थियो। धनगढीका १६ सडकको ३२ किलोमिटर सडक दुई वर्षभित्र बनाउन एसियाली विकास बैंक तयार भएको र यसको सहजीकरण डाक्टर आरजु राणा देउवाबाट भएको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख हमालले बताए।

एसियाली विकास बैंकले बाँकी सडकमा लगानी गर्ने भएपछि एडिबीले धनगढीमा साढे चार अर्ब बढी बजेट खर्च गर्ने छ। एसियाली विकास बैंकको लगानीमा धनगढीको पुरानो भन्सार सडक, रुवस होटल हुँदै दक्षिण जाने सडक, बोराडाँडी–यातायात कार्यालय सडक, धनगढीगाउँ–जुगेडा सडक लगायतका १६ वटा सडक दुई वर्षमा कालोपत्र हुने छन्।

प्रतिनिधि सभा सदस्य डाक्टर राणाको अगुवाईमा एसियाली विकास बैङ्कका कन्ट्री डाइरेक्टर र अन्य प्रतिनिधिसँग भएको छलफलमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाको पनि सहभागिता थियो। एसियाली विकास बैंकसँग भएको छलफल धनगढीको विकासका लागि महत्वपूर्ण भएको नगरप्रमुख हमालले बताएका छन्। ‘एसियाली विकास बैंकसँग भएको बैठकमा धनगढीको विस्तृत विकासका बारेमा छलफल भएको छ,’ उनले भने, ‘एसियाली विकास बैंकसँग कैलाली नालामा करिडोर निर्माण गर्ने र डुबान समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको छ।’

धनगढी उपमहानगरपालिकाले एसियाली विकास बैंक र विश्व बैंकको लगानीमा धनगढीको सडक निर्माण गर्ने, ताल तलैयाको संरक्षण र व्यवस्थापन गर्ने, डुबान समस्या हल गर्ने, ढल व्यवस्थापन र खोलानालामा करिडोर निर्माण गर्न विस्तृत आयोजाना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा पुगेको छ।

धनगढीको समग्र विकासका लागि एसियाली विकास बैंक र विश्व बैंकको सहयोग लिने बारे महत्वपूर्ण छलफल भएको नगरप्रमुख हमालले बताए। ‘धनगढीमा स्तरीय सडक बन्ने भएको छ। सबै नगरवासीले क्षेत्राधिकार खाली गर्न सहयोग गर्नुपर्छ,’ उनले भने, ‘समय दुई वर्ष मात्रै भएकाले द्रुत गतिमा काम गर्न सबैले सहयोग गरे धनगढीको मुहार फेरिनेछ।’

काठमाडौंमा डाक्टर आरजु राणा देउवाको समन्वयमा भएको छलफलमा एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आरनो एम कोश्वा, अर्थशास्त्री मानवरसिंह खड्का, पोर्टफोलियो सहरी विकास तथा जलवायु परिवर्तन युनिट प्रमुख आरनो हेकमनसँग मुख्यमन्त्री कमहलबहादुर शाह, भौतिक पूर्वाधार विका मन्त्री प्रकाशबहादुर देउवा र नगरप्रमुख गोपाल हमालले छलफल गरेका हुन्। छलफलमा एसियाली विकास बैंक दुई वर्षभित्र ३२ किलोमिटर सडक निर्माण गर्न सहमत भएको हो।

यस्तै, विश्व बैंक र एसियाली विकास बैंकले डुबान समस्या समाधन गर्न, ढल निर्माण गर्न, नदीहरूमा करिडोर निर्माण गर्न र तालतलैया संरक्षण गर्ने विषयमा पनि उच्च तहमा कुराकानी भएको नगरप्रमुख हमालले बताएका छन्।

कमेन्ट लोड गर्नुस