सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज कैलाली बहुमुखी क्याम्पसको ४२ औं स्थापना दिवस

२०७९ माघ १९, ०३:०१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको प्रमुख शैक्षिक गन्तव्य कैलाली बहुमुखी क्याम्पस ४२ वर्षमा प्रवेश गरेको छ। २०३७ साल माघ १९ गते सेती अञ्चलका तत्कालिन अञ्चलाधिश रत्नबहादुर गुरुङको अगुवाइ र स्थानीय समाजसेवीहरूको पहलमा कैलाली वाणिज्य क्याम्पसको रुपमा कैलाली बहुमुखी क्याम्पसको स्थापना भएको थियो।

सुरुमा धनगढी हसनपुरमा रहेको पञ्चोदय माध्यमिक विद्यालयको भवनमा सञ्चालन गरिएको क्याम्पस २०३९ मा अहिलेको स्थानमा सरेको थियो। सामुदायिक प्रयास र चन्दाबाट खुलेको कैलाली बहुमुखी क्याम्पसमा करिव ५० जना स्थानीयले एक हजारका दरले चन्दा दिएर स्थापना गरिएको थियो।

क्याम्पसको भवन निर्माणका स्थानीयले चन्दा सहयोग गरेका थिए भने नेपाली सेनाले क्याम्पसको पहिलो भवन निर्माण गर्न सहयोग गरेको थियो।सुरूमा क्याम्पसमा १४५ जना विद्यार्थी वाणिज्य संकाय पढ्न भर्ना भएको पूर्व क्याम्पस प्रमुख प्राध्यापक डाक्टर हेमराज पन्तले बताए।

'२०३७ मा पञ्चोदय स्कुलको भवनमा क्याम्पस सञ्चालन गरिएको थियो, वाणिज्य संकायमा १४५ जना विद्यार्थी भर्ना भएका थिए,’ उनले भने, ’पछि २०३९ सालमा हालको स्थानमा क्याम्पस सरेको हो।'

प्राध्यापक पन्तका अनुसार क्याम्पसमा सुरूमा ४ जना पूर्णकालिन र पाँच जना आंशिक अध्यापक राखेर पढाइ सञ्चालन गरिएको थियो। अहिले भने करिव एक सयबढी संख्यामा प्राध्यापक र कर्मचारी क्याम्पसमा कार्यरत रहेका छन्।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर समुदायिक क्याम्पसका रुपमा स्थापना भएको कैलाली बहुमुखी क्याम्पस हाल सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनेको छ। अहिले स्नातक र स्नातकोत्तर तहमा सबै संकायमा पठनपाठन हुने गरेको छ।
 

कमेन्ट लोड गर्नुस