सुदूर नेपाललाई विश्वसँग जोड्दै

९ केजी सुनसहित क्यानडेली नागरिक पक्राउ

२०७९ माघ १९, ०८:४३ खबर संवाददाता

काठमाडौँः त्रिभुवन विमानस्थलबाट ९ केजी सुनसहित क्यानडेली नागरिक गए राति पक्राउ परेका छन्। दुबईबाट जहाजमा आएका युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो।

मोहमदलाई ९ केजी १३५ ग्राम अवैध सुनसहित पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले बताए। पाण्डेका अनुसार ती क्यानेडियन नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन ल्याएका थिए।

उनको साथबाट बरामद गरिएको नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको पाइएको उनले बताए। उनीमाथि थप अनुसन्धान भइरहेको छ। सुन भारत लैजाने प्रयोजनका लागि नेपाललाई ट्रान्जिट बनाइँदै आइएको खुलेको छ। यसअघि १९ केजी सुनसहित गत महिना दुई सुडानी पक्राउ परेका थिए।

बुधबार राति बरामद गरिएको सुन पनि त्यसैको निरन्तरता हुन सक्ने अनुसन्धानमा खटिएका अधिकारीले बताएका छन्। सुडानी र क्यानडेली नागरिकको संलग्नता र नेक्ससमामाथि केन्द्रित भएर पनि अनुसन्धान थालिएको पाण्डेले बताए ।
 

कमेन्ट लोड गर्नुस