सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भ्रष्टाचार रोक्न ‘नमस्ते मेयर जनगुनासो सुनवाइ’ सेवा सञ्चालन

२०७९ मंसिर २३, १२:५६ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा सञ्चालनमा ल्याइएको छ। भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन प्रवर्द्धनका लागि उक्त सेवा सञ्चालनमा ल्याइएको हो। 

यूएनडीपीको सहयोगमा अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसको अवसरमा उपमहानगरले शुक्रबारदेखि यो सेवा सुचारु भएको जनाएको छ। धनगढीका नगर प्रमुख गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा र शिक्षाविद् तथा प्राध्यापक डा. हेमराज पन्तले संयुक्त रुपमा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले नमस्ते मेयर जनगुनासो सुनवाइ सेवाको शुभारम्भ गरेका थिए।

यूएनडीपीका संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाका परियोजना अधिकृत मनोज ओझाले स्थानीय तहमा देशमै पहिलोपटक धनगढीमा नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा सञ्चालनमा आएको बताए। उनकाअनुसार उक्त सेवा अन्तरगत सेवाग्राहीले क्युआर कोड स्क्यान गरेर फेसबुक, ट्वीटर, इन्स्टाग्राम, वाट्सएपमार्फत पनि गुनासा टिपाउनसक्ने व्यवस्था मिलाइएको छ।

गुनासा तथा सुझाव संकलनका लागि यूएनडीपीको सहयोगमा उपमहानगरपालिकाले छुट्टै जनगुनासो इकाइ पनि बनाएको छ। जनगुनासाका लागि १६६०९१५२७७७ को टोल फ्री नम्बर पनि राखिएको छ। नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा शुभारम्भ गर्दै धनगढीका नगर प्रमुख हमालले धनगढीलाई भ्रष्टाचारमुक्त बनाउन सबैको सहयोग आवश्यक भएको बताए। उनले उपमहानगरपालिकाबाट प्रवाह हुने सेवासुविधालाई छिटोछरितो प्रवाह गर्दै भ्रष्टाचारमुक्त नगर बनाउने चाहानामा सबैले साथ दिनेमा पनि विश्वस्त रहेको बताए।

‘सफा पानी आउन मूल सफा हुनुपर्छ। जुन मूल नै फोहर छ त्यहाँ सफा पाइँदैन्। यहाँ मूल भनेको राजनीतिक नेतृत्व हो। नेतृत्व इमादानर छैन भने भ्रष्टाचार मुक्तको कल्पना गर्न सकिदैन,’ हमालले भने, ‘मेयर भ्रष्टाचारी हुनुभएन। मैले धनगढी उपमहानगरपालिकालाई छिटोछरितो सेवा प्रवाह गर्दै भ्रष्टाचार मुक्त नगर बनाउने अठोट लिएको छु। सबैले सहयोग आवश्यक छ।’

नमस्ते मेयर जनगुनासो सुनवाइ सेवामार्फत सर्वसाधारणले टिपाउने गुनासा छिटोछरितो सम्बोधन गर्ने व्यवस्था मिलाइएको उपमहानगरले जनाएको छ। जनगुनासो सुनवाइ सेवा शुभारम्भ गर्नुभन्दा पहिले धनगढी चौराहदेखि उपमहानगरपालिका परिसरसम्म भ्रष्टाचारविरुद्ध र्‍यालीसमेत निकालिएको थियो।

कमेन्ट लोड गर्नुस