सुदूर नेपाललाई विश्वसँग जोड्दै

धानको पूजा गरी मनाइयो धान्यपूर्णिमा

। फोटो स्रोत ।
२०७९ मंसिर २२, १०:३८

काठमाडौँः मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइएको छ। 

मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने र त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी र मालपुवा बनाएर चढाउने परम्परा छ। 
 
यसअघि नव अन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गरेका छन्। यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी, सिन्धुपाल्चोकको स्फटकेश्वर, नुवाकोटको सिकरबेंसी र दुप्चेश्वरललगायत स्थानमासमेत मेला लागेको जनाइएको छ। 
 
मनाइयो योमरी पूर्णिमा (योमरी पुन्हि)
 नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाएका छन्। योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ। नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ। योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ।

योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन्। नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने प्रचलन छ। यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रूपमा मनाउने गरेको संस्कृतिविद् प्रकाशमान श्रेष्ठ बताउछन्। योमरीमा तिलसमेत राखेर डल्लो बनाइन्छ।

नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि रहेको छ।
 

कमेन्ट लोड गर्नुस