सुदूर नेपाललाई विश्वसँग जोड्दै

सार्वजनिक लेखा समितिकी सभापतिले नै फिर्ता गरिनन् ल्यापटप र प्रिन्टर

सुदूरपश्चिमका २० निवर्तमान प्रदेशसभा सदस्यको अटेरी

२०७९ मंसिर २०, १०:३९

वीरेन्द्र भट्ट, धनगढीः प्रदेश सभा सदस्य निर्वाचनका लागि मनोनयन गरेको दिनबाटै सांसदहरुको कार्यकाल समाप्त हुने व्यवस्था छ। प्रदेश निर्वाचनका लागि गत असोज २२ गते मनोनयन दर्ता भएको थियो। सोही दिनदेखि सांसदहरुको कार्यकाल सकिएको हो।

कार्यकाल सकिएको एक साताभित्र राज्यबाट लिएको सबै सेवा सुविधा फिर्ता गर्न सचिवालयले पटकपटक आग्रह गर्दै आएको छ। तर प्रदेशसभाका २० जना निवर्तमान सदस्यसहित उप–सभामुखका स्वकीय सचिव हरिचन्द्र भट्टले समेत अझै ल्यापटप फिर्ता गरेका छैनन्।

निवर्तमान प्रदेश सभा सदस्य एवं लेखा समितिकी सभापति कुमारी नन्दा बमले दुई महिनाअघि नै सामान फिर्ता गरेको दाबी गरेकी छन्। ‘मैले दुई महिनाअघि नै बुझाइसकेकी छु, कसले भन्यो बुझाएन भनेर, मैले बनाउन दिएकी थिए। किन सामान बुझाएन भनेर प्रचार हुँदैछ के ?,’ उनले भनिन्। तर सचिवालयको अभिलेखअनुसार उनले अझै ल्यापटप र प्रिन्टर फिर्ता गरेकी छैनन्। 

सुदूरपश्चिम प्रदेश सरकारले सुविधावाफत उपलब्ध गराएका १३ वटा गाडि फिर्ता भएका छन्। बाँकी सुविधावाफतका सामग्री भने प्रदेश सभा सदस्यहरुले अझै फिर्ता गरेका छैनन्। प्रदेश सभा सदस्य एवं लेखा समिति सभापति कुमारी नन्दा बमले ल्यापटप र प्रिन्टर अझै फिर्ता गरेकी छैनन्। ल्यापटप फिर्ता नगर्नेमा प्रदेश सभा सदस्य अमरबहादुर साउँद, अम्बीकुमारी थापा, उमाकुमारी वादी, कुलवीर चौधरी, चुनकुमारीदेवी चौधरी, टेकबहादुर रैका, दिब्यश्वरी शाह, दुर्गाकुमारी कामी, देवराज पाठक, पूर्णा जोशी, प्रेमप्रकाश भट्ट, बलबहादुर सोडारी, मनाकुमारी साउँद, मानबहादुर सुनार, माया तामाङ बोहरा, शान्ति नेपाली, श्यामलाल राना थारु र सुशीला बुढाथोकी रहेका छन्। 

आगामी कार्यकालका लागि नयाँ प्रतिनिधि चुनिएर आइसक्दा पनि निवर्तमान अधिकांश मान्य प्रदेश सभा सदस्य ज्युहरुले अझै ल्यापटप लगायतका सामग्री फिर्ता नगरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए। ‘अब पत्रचार नै गरेर सबै सामग्री फिर्ता गर्न आग्रह गछौँ, सुविधाका लागि लिएको सामग्री कार्यकाल सकिएपछि बुझाउनुपर्छ, केहिले बुझाइपनि सकेको छन तर बुझाउन बाँकी मान्य सदस्यले पनि यथाशक्य बुझान सचिवालयको आग्रह छ,’ उनले भने।

सामान फिर्ता गर्न पटक/पटक ताकेता गर्दा पनि फिर्ता नगरेको प्रदेश सभा सचिवालयले जनाएको छ। उप–सभामुख निर्मला जोशीका स्वकीय सचिव हरिचन्द्र भट्टले कार्यालय प्रायोजनको लागि भनेर लिएको ल्यापटप फिर्ता गर्न अटेरी गरेका हुन्। प्रदेश सभा सदस्यको क्षमता अभिवृद्धि गर्ने भन्दै ४६ जनालाई ल्यापटप वितरण गरिएको थियो। तर अहिले पनि २१ जनाले बुझाउन अटेरी गर्दै आएका छन्।


 

 

कमेन्ट लोड गर्नुस