सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘धनगढीलाई हेर्नलायक सहर बनाउँछौँ’

मुख्य सडकमा साइकल लेन

२०७९ मंसिर १९, १०:५१

वीरेन्द्र भट्ट, धनगढीः धनगढीमा हुने सवारी दुर्घटनालाई न्युनीकरण गर्न उपमहानगरपालिकाले आवश्यक पहल सुरु गरेको छ। ६ लेन सडकमा राखिएका डिभाइडर हटाउन उपमहानगरले तीन महिना अघि नै सडक विभागलाई पत्राचार गरिसकेको छ।

उपमहानगर र विभिन्न साझेदार निकायसँगको सहकार्यमा मृत्यु मार्गलाई सुरक्षित मार्ग बनाउन सडकको मध्यभागमा तारजालीसहित वृक्षारोपण गरेर सुन्दर धनगढी बनाउने प्रक्रिया सुरु गरिएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताए। धनगढीलाई हेर्नलायक सहर बनाउने योजनासहित काम भइरहेको उनले बताए।

‘मोहनापुल अत्तरिया ६ लेन सडकमा दैनिकजसो दुर्घटना भइरहेको छ, जथाभावी सवारी पार्किङ, मनलाग्दी बाटो क्रसिङ, ट्राफिक लाइट नहुनु तथा सडक बत्ती समेत नभएका कारण विशेष गरी रातीको समयमा दुर्घटना हुनेक्रम बढेको देखिन्छ। यस कारण पनि सडक सुरक्षालाई ध्यानमा राखेर डिभाइडर हटाउने पहलसँगै सडक बत्ती जडान गर्ने योजना छ,' उनले भने।

उपमहानगरपालिकाले धनगढीको सुरक्षालाई मध्यनजर गर्दै करिब ९ किलोमिटरभित्र स्मार्ट लाइट जडानको प्रक्रिया समेत अघि बढाइएको छ। मोहनपुरदेखि भन्सारसम्म चालु आर्थिक वर्षभित्रै लाइट जडान गर्ने गरी सम्झौता गरिसकिएको छ। हरेक चोक तथा प्रत्येक क्रसिङमा हाइमास्ट लाइट जडान गरिनेछ। मोहनपुरदेखि भन्सारसम्म १० वटा हाइमास्ट लाइट जडान गर्ने उपमहानगरको तयारी छ। यसका लागि बोलपत्र आह्वान भइसकेको छ। उपमहानगर र विभिन्न साझेदार निकायसँगको सहकार्यमा सडकमा वृक्षारोपणदेखि सरसफाईसम्मका योजना बनाइएको छ।

पहुँचको आधारमा नभएर आवश्यकताको आधारमा उपमहानगले धनगढीलाई सुरक्षित, सुन्दर र हेर्नलायक बनाउन सबैभन्दा बढी चाप हुने क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको दाबी उपमहानगरको छ। भारतबाट आउने पाहुना सबैभन्दा पहिले भन्सारबाट धनगढी प्रवेश गर्छन् भने धनगढी आउने व्यक्ति ६ लेन भएर आउने भएकाले सोहिअनुसार हेर्नलायक धनगढी बनाउन स्मार्ट स्ट्रिटलाइट, हाइमास्ट लाइट, सडकको मध्यभागमा तारजालीसहित वृक्षारोपणको कामलाई अघि बढाइएको मेयर हमालले बताए।

त्यस्तै, क्याम्पसचोकदेखि कालिका मन्दिरसम्मको हुलाकी सडकमा पनि बत्ती जडानका लागि पहल थालिएको छ। दुई मुख्य सडक मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत उपमहानगर क्षेत्रभित्र र हुलाकी सडकलाई साइकल लेनको रुपमा विकास गर्ने उपमहानगरको योजना छ। एलएनचोक सडकलाई ‘वान वे’ (एकतर्फी) बनाउने विषयमा पनि सम्वन्धित सरोकार पक्षसँग २५ गते वृहत छलफल गर्ने कार्यतालिका उपमहानगरले बनाएको छ।

 

कमेन्ट लोड गर्नुस