सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप, कारबाहीको माग

२०७९ मंसिर १६, ०२:०३ खबर संवाददाता

काठमाडौंः काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर १३ स्थित कंकाली माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक कृष्णमणि लामिछानेमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। उनीमाथि सोही विद्यालयमा कक्षा ७, ९ र १० का छात्राले यौन दुर्व्यवहारको आरोप लगाएका हुन्। 

नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले शिक्षकद्वारा भएको यो हर्कतप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शिक्षक लामिछानेले पटकपटक यस्तो कसूर गरेको हुनाले उनलाई माफी दिन नसकिने उसको भनाइ छ। 

यसवीच कंकाली मावि प्रशासन,विद्यालय व्यवस्थापन समिति,जनप्रतिनिधि र अखिलका पदाधिकारीहरुको संयुक्त बैठकले दोषी शिक्षकलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको छ। तीन दिनभित्र शिक्षकलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई दबाब दिने निष्कर्ष बैठकले निकालेको छ। 

त्यस्तै,अर्को दुई सामान्य आरोपित शिक्षक अन्जन श्रेष्ठ र पुष्पराज भोमरालाई माफी माग्न लगाउने निर्णय भएको सहमति पत्रमा उल्लेख छ। आगामी दिनमा फेरि पनि उही हर्कत दोहोरिएमा कडा कारबाहीका साथै जागिरबाट निष्कासन गरिने कडा चेतावनीसमेत दिइएको छ। 

साथै,उक्त निर्णय समयभित्र कार्यान्वयन नभएमा संघर्षमा जाने अखिल क्रान्तिक्रारीको चेतावनी छ।

कमेन्ट लोड गर्नुस