सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

२०७९ मंसिर १३, ०८:४१ खबर संवाददाता

सप्तरी: लैङ्गिक हिंसाविरुद्ध अभियान चलिरहेकै बेला सप्तरीमा एक महिलाको आफ्नै श्रीमान्द्वारा हत्या भएको छ। ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ नाराका साथ कार्यक्रमहरू भइरहेको बेला सप्तरीको राजविराज नगरपालिमा–१ चनौरा पडरियामा ४० वर्षीया गीता रजकको हत्या भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

हत्या आरोपमा रजकका श्रीमान् ५२ वर्षीय भैयालाल भनिने हिरालाल रजकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए। प्रहरीका अनुसार राजविराज नगरपालिका–१ स्थित प्राङ्गारिक मल बनाउने निर्माणाधीन खुल्ला भवनको प्यासेजभित्र मृतकको टाउको तथा निधार समेतमा धारिलो हतियार प्रहार गरी मारेको अवस्थामा शव फेला परेको हो।

रजक दम्पती राजविराज नगरपालिका–१ रामपुर टोल घर भई सोही वडाको पडरिया टोलस्थित दीपेन्द्र यादवको घरमा डेरा गरी बसेका थिए। मृतकका बुबा गजानन्द रजकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएको किटानी उजुरीका आधारमा आरोपित हिरालाललाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस