सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका झण्डै ४० प्रतिशत मतदाताले भोट हालेनन्

बदर मत बढ्यो

२०७९ मंसिर १०, १२:२५ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः स्थानीय तहको निर्वाचनमा मतपत्र ठूलो थियो। एउटै मतपत्रमा धेरै छाप लगाउनुपर्ने थियो। जसका कारण बदर मतको संख्या पनि बढी थियो। तर आइतवार सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मतपत्र सानो छ। निर्वाचन चिह्न पनि थोरै छन्। तर पनि बदर मतको संख्या बढेको हो।

तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ८ प्रतिशतको हाराहारीमा मत बदर भएको छ। ३ लाख बढी मतदाता रहेको कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा करिब ६२ प्रतिशत मतदान भएको छ। त्यस्तै ५ लाख ३५ हजार ५१४ मतदाता रहेको कैलालीमा ५ वटा निर्वाचन क्षेत्र छन्। प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ। जिल्लामा बदर मतको संख्या स्थानीय तहको निर्वाचनमा भन्दा कम भएको दाबी छ।

स्थानीय तहको निर्वाचनमा भन्दा कम मत बदर भएको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए। ‘स्थानीय तहको निर्वाचनमा मतदाताको सहभागिता बढी थियो, मत बदर पनि बढी नै थियो, तर प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको सहभागिता कम देखिएपनि मत बदर संख्या कम देखिएको छ। यो निर्वाचनमा मतदाताको सहभागिता बढ्न सकेन, रोजगरीका लागि भारतलगायत मुलुक जानेको संख्या बढेकाले निर्वाचनमा सहभागिता बढेको देखिएन,' उनले भने।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतमा दोहोरोतेहोरो छाप लागेको देखियो। कतिपय क्षेत्रमा धेरै मत खाली थिए। एउटै मतमा तीन/चारसम्म छाप लागेका मत पनि देखिएको हो। धेरै मतपत्र खाली देखिनु नो भोटको अभियानले समेत काम गरेको अनुमान गरिएको छ। डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका लागि ४८ हजार मत सदर भएको छ।

सोही हाराहारीमा प्रदेशसभा सदस्यका लागि पनि मत सदर भएको छ। कुल सदर मतको ६ प्रतिशत मत बदर भएको छ। कुल मतदाताको ५६ दशमलव १४ प्रतिशत मात्र मत खसेको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख करुणाकर अवस्थीले बताए। ‘निर्वाचनमा मतदाताको सहभागिता झण्डै आधाले कम देखिन पुग्यो, मतदानमा सहभागिता नै कम देखिनु विडम्बना हो,’ उनले भने।

स्थानीय तहको निर्वाचनको तुलनामा मतपत्र सानो भएका कारण बदर कम हुनुपर्ने भएपनि मतदाता शिक्षाको अभाव तथा गठबन्धनका कारण मतदाता अल्झिएर बढी मत बदर भएको हुन सक्ने निर्वाचन अधिकृतहरुको अनुमान छ। कतिपय अवस्थामा पट्याउन नजानेर दुईतिरै लतपतिएर पनि मत बदर भएको छ। ग्रामीण भेगमा मतदाता शिक्षाको अभावका कारण बढी मत बदर भएको निर्वाचन अधिकृतहरु बताउँछन्।

एक लाख ५८ हजार ६५७ मतदाता रहेको अछाममा ८३ हजार एक सय २७ मत खसेकोमा ७८ हजार एक सय ८८ मत सदर भएको छ। ९५ दशमलव २६ प्रतिशत मत सदर हुँदा तीन हजार ९ सय ३९ मत अर्थात् ४ दशमलव ७४ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालय अछामका प्रमुख कृष्णसिंह नायकले बताए। ‘जिल्लामा ५२ प्रतिशत मात्र मत खसेको छ,' उनले भने, 'यसपालिको निर्वाचनमा सहभागिता नै मतदाताको सहभागिता नै बढ्न सकेको देखिएन।’

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा निकै कम मत खसेको निर्वाचन अधिकृतहरुले बताएका छन्। कुल १६ लाख ३५ हजार चार सय १४ मतदाता रहेको सुदूरपश्चिममा करिब ४० प्रतिशत मतदाताले भोट नहालेको देखिएको छ। साथै मतदाता शिक्षा गाउँगाउँमा पुग्न नसकेका कारण मत बदर बढेको सरोकारवाला बताउँछन्।
 

कमेन्ट लोड गर्नुस