सुदूर नेपाललाई विश्वसँग जोड्दै

परदेश पस्दै सुदूरपश्चिमेली युवा, भन्छन्, ‘नेतालाई भोट हालेर जितायौं तर रोजगारी छैन्’

सुदूरको दुखान्त

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ मंसिर ८, ०१:४७ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः डोटी निरौलीका श्याम साउद बुधवार गौरीफन्टा नाकामा भेटिए। उनी कामको खोजीमा भारततर्फ जान लागेका थिए। उनी हरियाणाको यात्राको तयारीमा थिए। २५ वर्षीय साउँद तेस्रो पटक कामको खोजीमा भारत पसेका हुन्। 

उनीजस्तै दर्जनौं युवा सीमा नाकामा नाम टिपाउन लाइनमा थिए। नेपाली युवाहरु भारतमा रोजगारीका लागि सिमा नाकामा लर्को नै लाग्न थालेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट दैनिक एक हजार भन्दा बढी युवा गौरीफन्टा नाका हुँदै भारत जाने गरेको प्रहरीे अभिलेख छ। 

बेरोजगारीका कारण कामको खोजीमा भारत जानु परेको उनीहरुको गुनासो छ। उनीहरु निर्वाचनमा मत दिएर भारततर्फ गइरहेको कुरा सुनाउँछन्। आफू भोट हालेर नेपालमै बसेर परिवार पाल्न नसकिने भएपछि कामको खोजीमा भारतको पन्जाब जान लागेको अछामका नरबहादुर बुढाले बताए। ‘नेताहरुलाई पटकपटक जितायौ। तर हाम्रो भारत जाने बाध्यता हटेको छैन, नेपालमै रोजगारी सिर्जना भए यसरी भारतका गल्ली चहार्नुपर्ने थिएन।’ 

नेपालमा काम नभएको र भारतका विभिन्न सहरमा कामको खोजीमा पलायन हुनु परेको उनीहरुको गुनासो छ। भारत जान हुल बाँधेर नाकामा पुगेका अधिकांश नेपालीले स्वदेशमा रोजगारी नहुँदा परिवार पाल्न भारत जानु परेको गुनासो पोखेका छन्। अहिले भारत जानेमा अधिकांश २० वर्षको सेरोफेरोकै युवा छन्। भारत जानेमध्ये अधिकांशले मतदान गरेर पुनः रोजगारीको खोजीमा भारत पलायन भइरहेका छन्। 

‘स्वदेशमै रोजगारीको अपेक्षासहित नेताहरुलाई भोट हाल्न कहिल्यै छोडेको छैन तर हाम्रा दुःख उस्तै छन्,’ भारतमा लामो समयदेखि चौकीदारी गर्दै आएका टिकापुरका अमृत रावलले गुनासो पोखे। उनले भने, ‘भोट हालियो अब चौकीदार गर्न भारत गएन भनेर कसरी छोराछोरी पढाउने र परिवार पाल्ने, भारत नगई हुदैन।’

स्वदेशमा कुनै काम नै नपाइएपछि बाध्य भएर फेरी भारत जानु परेको युवाहरुको गुनासो छ। नेपालमा बढीभन्दा बढी रोजगारी सृजना नगरिएसम्म कालापहाड जानैपर्ने बाध्यता बाँकी रहने उनीहरुको दुखेसो छ। आफ्नो देशमा काम नपाएपछि भारत जानुको विकल्प नहुँदा हुलका हुल भारत पलायन हुनेक्रम बढेको छ।

परिवारसहित भारत जानेको संख्या पनि बढ्दो छ। भारत नगई गुजारा नचल्ने भएपछि चौकीदारी गर्न भारत जान लागेको अर्का युवक विनोद खत्री गुनासो गर्छन्। आइतबार सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना नसकिँदै सुदूरपश्चिमबाट कामको खोजीमा भारतका विभिन्न सहर पस्नेक्रम दैनिक रुपमा बढ्दो छ।

कमेन्ट लोड गर्नुस