सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिरासतमा रहेका सन्दीपलाई क्यान अध्यक्ष चन्दले भेटे, सन्दीपले भने,‘मलाई फसाइयो’

२०७९ असोज २१, ०२:२१ खबर संवाददाता

धनगढीः बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले भेट गरेका छन्। प्रहरी स्रोतका अनुसार गौशाला प्रहरी वृत्तको हिरासतमा रहेका लामिछानेलाई भेट्न अध्यक्ष चन्द शुक्रबार बिहान पुगेका हुन्। 

सो भेटका अवसरमा लामिछानेले आफूलाई फसाइएको भन्दै कानुनी लडाईँ लड्ने चन्दलाई बताएका थिए। स्रोतका अनुसार चन्दसँग सन्दीपले भनेका थिए, ‘म निर्दोष छु। मलाई फसाइयो। अब कानुनअनुसार लड्छु। क्यानले सक्ने सहयोग गर्नुपर्छ।’

सीपीएल खेल्न जमैकामा रहेका बेला नेपालमा सन्दीपमाथि बलात्कार आरोपमा प्रहरीमा उजुरी परेको थियो। एक १७ वर्षीया बालिकाले उनीमाथि बलात्कारको आरोप लगाएकी थिइन्। आरोप लागेपछि सामाजिक सञ्जालमार्फत सन्दीपले छिट्टै नेपाल फर्किने बताए पनि करिब एक महिनासम्म नआएपछि नेपाल प्रहरीले इन्टरपोल गुहारेको थियो। इन्टरपोलमार्फत् डिफ्युज नोटिस जारी भएपछि सन्दीपले नेपाल आएर प्रहरी समक्ष आत्मशमर्पण गरेका हुन्। 

प्रहरीले सन्दीपलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । उनी कतारको दोहाबाट कतार एयरवेजमार्फत बिहीबार बिहान काठमाडौं उत्रिएका थिए। 

कमेन्ट लोड गर्नुस