सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

२०७९ असोज २१, ०९:३४

काठमाडौँ : आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहल छ।

नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नसकेकाहरू आज पनि जादैछन्। 

विजयादशमीका दिन बुधबार बेलुकीदेखि निरन्तर वर्षा भएकाले नवदुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद लिन टाढाटाढा आफन्तकहाँ जान कठिन भएको छ। दुई दिनसम्म हिँड्न नपाएकाहरु आज आशीर्वादका लागि जादैछन्। 

जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको असरले वर्षा भएको जनाएको छ। 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा कुनै बाधा नरहेको बताए। 


 

कमेन्ट लोड गर्नुस