सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा चुनावका बेला हातहतियार बुझाउन मान्दैनन् नागरिक

प्रशासनद्वारा बुझाउन निर्देशन

२०७९ असोज १५, १०:०९ खबर संवाददाता

धनगढीः आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले हातहतियार बुझाउन निर्देशन दिएका छन्। प्रदेशका सबैजसो जिल्ला प्रशासन कार्यालयहरुले घर तथा कार्यालयमा रहेका सम्पूर्ण हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएका हुन्।

आगामी कात्तिक ५ गतेभित्र सम्पुर्ण हतियार बुझाइसक्न प्रशासन कार्यालयहरुले निर्देशन दिएपनि हतियार धनीहरुले भने आनाकानी गर्ने गरेको बताइन्छ। यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि यसैगरी घरमा भएका सम्पूर्ण हतियार बुझाउन प्रशासनले निर्देशन दिएका थिए। तर, सुदूरपश्चिमका अधिकांश जिल्लाहरुमा हतियार धनीले बुझाएका थिएनन्।

स्थानीय तहको निर्वाचन पूर्व कैलालीमा कसैले पनि हतियार नबुझाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। निर्वाचन आउनुभन्दा दुई महिना पहिले नै हतियार बुझाउन प्रशासनले निर्देशन जारी गर्दै आएपनि अधिकांशले अटेरी गर्ने गरेका हुन्। 

जिल्ला प्रशासन कार्यालयहरुले आगामी कार्तिक ५ गतेभित्र इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन दिइसकेका छन्। जिल्ला प्रशासन कार्यालयहरुले सूचना नै जारी गरेर मंसिर ४ गते हुने प्रतिनिभिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै हातहतियार बुझाउन निर्देशन दिएका हुन्। 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्न कार्तिक ५ गतेभित्र जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी इकाइमा बुझाउन भनिएको हो।

बुझाइएका हातहतियार सुरक्षित राखिने र निर्वाचनपछि हतियार धनीलाई नै फिर्ता गरिनेछ। कसैले बिना इजाजतका भरुवा तथा एयर गन बन्दुक राखेको भएपनि प्रहरी इकाइहरुमा बुझाउन भनिएको छ। निर्धारित समयभित्र हातहतियार नबुझाए कानून बमोजिम कारबाही गरिने समेत उल्लेख गरिएको छ।

कमेन्ट लोड गर्नुस