सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्राफिक प्रहरीले गर्‍यो सवारी साधनको यान्त्रिक अवस्था जाँच 

२०७९ असोज १०, ०८:२० खबर संवाददाता

धनगढी: धनगढीमा ट्राफिक प्रहरीले सवारी साधनको यान्त्रिक अवस्था जाँच गरेको छ। चाडपर्वका बेला दुर्घटना हुनसक्ने भन्दै ट्राफिक प्रहरीले सोमबार सवारी साधनको यान्त्रिक अवस्था जाँच गरेको हो।

दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी धनगढी उपमहानगरपालिका-४ बसपार्कमा ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर रवीन्द्र चौधरीसहितको संयुक्त टोलिले सवारी साधनको यान्त्रिक अवस्था चेकजाँच गरेको बताइएको छ।

चाडपर्वका समयमा सवारी साधनको चाप बढ्दै जाने हुँदा सम्भावित दुर्घटना न्यूनीकरणका लागि यान्त्रिक अवस्था चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ। कैलाली जिल्लाभरि ९ ओटा यात्रु सहायता कक्ष स्थापना गरिएको, लामो दुरीका बसमा अनिवार्य दुई जना चालकको व्यवस्था गर्न लगाइएको, क्षमताभन्दा बढी यात्रु नबोक्न र मापसे गरी सवारी नचलाउन भनिएको ट्राफिक प्रहरीले जनाएको छ।

त्यस्तै, सवारी साधनको अगाडिको सिसा तथा (लुकिंग ग्लास) ऐनामा राखिएका विभिन्न किसिमका झलर, रुमाल तथा अन्य सजावटका सामानहरु हटाउन लगाइएको छ। सबै सवारी धनी एवं चालकहरुलाई झलर, रुमाल तथा अन्य सजावटका सामानहरु हटाउनका लागि पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस