सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सुरु भयो ‘मौसमी’ बजार अनुगमन, प्रभावकारिता माथि प्रश्न 

२०७९ असोज १०, ०६:३५ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः बडादसैं सुरु भएसँगै बजारभाउ आकाशिएको छ। दैनिक उपभोग्य सामानको मूल्यले उपभोक्ता मारमा परेका छन्।

तर, अनुगमन र कारबाहीको जिम्मेवारी बोकेका निकाय चाडपर्व लक्षित बजार अनुगमनमा मात्र केन्द्रित देखिएका छन्। अरु समयमा वास्ता नगर्ने निकाय चाडपर्वका बेला भने एकाएक चल्मलाउँछन्। विगतमा जस्तै चाडपर्वको मुखमा आएर बजार अनुगमन हुने परम्पराले कैलालीमा यसपटक पनि निरन्तरता पाएको छ। 

तर, दसैंतिहार जस्ता ठूला पर्वमा अनुगमनको रकम सक्न बजार अनुगमन हुने गरेको स्थानीयको गुनासो छ। कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले बजार अनुगमन गरिएको नियममनकारी निकायको दाबी छ।

विगतका चाडपर्वजस्तै यस वर्षपनि संयुक्त बजार अनुगमन सुरु गरिएको वणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमलराज उपाध्यायले बताए। उनले भने,‘अन्य वर्षका चाडपर्वजस्तै यस वर्षको चाडबाडमा पनि संयुक्त बजार अनुगमन असोज १ गतेदेखि नै सुरु गरिएको छ।’ कानुन कार्यान्वयनको पाटो  फितलो भएकै कारण बजार अनुगमनको प्रभावकारिता देखिएको छैन्।

अनुगमन गर्ने क्रममा टोलीले अनुगमन गर्ने प्रविधि तथा मापनयन्त्रसमेत ल्याउने गरेका छैनन्। बिक्रीको लागि राखिएका वस्तुको उत्पादन मिति र व्याच मात्रै हेरेर अनुगमन गरिँदै आएको छ। साथै अनुगमन टोली आउँदै छन् भन्ने सुइको पाउनासाथ कतिपय व्यापारीहरु ढोका थुनेर बस्ने गर्छन्।

अनुगमनलाई निरन्तरता दिँदै दसैंतिहारमा मात्र नभएर निरन्तर बजार अनुगमन हुँदै आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालको दाबी छ। उनी भन्छन्, ‘बजार अनुगमन वर्षभरी नै हुन्छ चाडपर्वमा बढि भीडभाड र खरिदविक्री हुने भएकाले सशक्त रुपमा अनुगमन गरिदैँ आएको हो।’ हरेक वर्ष चाडपर्वमा उपभोक्ता ठगिने, लुटिने क्रम बढ्दै गएपनि उचित अनुगमन र कारबाहीमा प्रभावकारिता नहुँदा ठगिने पक्षमा सुधार आउन सकेको छैन्।

मिसावट गर्ने, गुणस्तरहीन बेच्नेलाई जेल सजायसम्मको कानुनी व्यवस्था भएपनि व्यवहारमा लागु हुन नसक्दा चाडपर्व लक्षित बजार अनुगमन सरकारी निकायको देखाउने दाँत मात्र भएको उपभोक्ताको गुनासो छ। तर, उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजार अनुगमन तीव्र पारिएको सरकारी दाबी छ। 

दसैंतिहार जस्ता ठूला पर्वहरुमा खरिदविक्री बढी हुने र यही मौकामा  उपभोक्ता ठगिने विषयलाई ध्यानमा राखेर अनुगमन पक्षलाई बलियो बनाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी एवं संयुक्त बजार अनुगमन समितिका संयोजक यज्ञराज जोशीले बताए। ‘संयुक्त बजार अनुगमन असोज १ गतेदेखि नै चलिरहेको छ, तालिकाअनुसार बजार अनुगमनलाई चाडपर्वमा तीव्र बनाउँदै लगेका छौँ।’

दशैँ, तिहार र छठ जस्ता मुख्य चाडबाडका बेला सरकारले गुणस्तर जाँचका लागि भन्दै बजार अनुगमन तीव्र बनाउने गरेको छ। तर त्यस्तो ‘मौसमी’ अनुगमन प्रभावकारी नभएको उपभोक्ताको गुनासो छ।

कमेन्ट लोड गर्नुस