सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानसिक तनावले आइसोलेशनमा छु, नेपाल फर्किने तयारीमा छुः सन्दीप 

२०७९ असोज १०, १२:३४ खबर संवाददाता

काठमाण्डौः नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू मानसिक तनावमा रहेको र छिट्टै नेपाल फर्किने बताएका छन्।

आफूविरुद्धको उजुरी डटेर सामना गर्न आफू नेपाल फर्किने तयारीमा रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका हुन्। उनले आफूविरुद्ध झुटो जाहेरी परेको र भदौ २२ गते मात्र यो कुरा थाहा पाएको उनको दाबी छ।

आफ्नो चरित्रमा गम्भीर आँच आउने खालका आरोप र समाचारले मानसिक रूपमा विक्षिप्त भएको भन्दै उनले आफू आइसोलेशनमा बसेको पनि बताएका छन्। कानुन व्यवसायीसँग परामर्श गरिरहेको र छिट्टै नेपाल फर्किने उनको भनाइ छ। तर आफू कहाँ छु भन्ने कुरा उनले खुलाएका छैनन्।

नाबालिग बलात्कार आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका सन्दीप त्यसपछि सम्पर्कमा छैनन्। भदौ २१ गते १७ वर्षीया किशोरीले लामिछानेविरुद्ध जबरजस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएपछि २३ गते नेपाल क्रिकेट सङ्घ क्यानले उनलाई कप्तानबाट निलम्बन गरेको थियो। प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्दै फरार सूचीमा राखेको छ।

कमेन्ट लोड गर्नुस