सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रमणका लागि बजेट नदिएको भन्दै नगरपालिकामा तोडफोड

२०७९ असोज ९, ०३:३४ खबर संवाददाता

रौतहटः रौतहटको बौधिमाई नगरपालिकामा सामुदायिक विद्यालयका विद्यार्थीहरूले आक्रमण गरेका छन्। शैक्षिक भ्रमणका लागि बजेट नदिएको भन्दै आक्रोशित विद्यार्थीहरूले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन्।

सयौँको संख्यामा नगरपालिका पुगेका विद्यार्थीहरूले मेयर प्रदीप यादव चढ्ने ना१ झ १६९३ नम्बरको सरकारी नम्बर प्लेटको गाडीमा ढुंगामुढा गरी तोडफोड गरेका छन्। गाडी क्षतिग्रस्त बनेको छ। यस्तै उनीहरू कार्यालयको कुर्सी, सोफा, टेबुल लगायतका समान पनि तोडफोड गरेको बुझिएको छ।

मेयर यादवले कार्यालयमा काम गरिरहेको बेला विद्यार्थीहरूको समूह पुगेर अचानक आक्रमण गरेको बताए। उनले भने, ‘म चढ्ने गाडी मात्र होइन, कार्यालयमा समेत तोडफोड गरी करोडौँको क्षति पुर्‍याएका छन्।’ ‘विद्यार्थीहरूको हुलमा बाहिरका मान्छे पनि थिए’, उनले भने, ‘ममाथि समेत आक्रमणको प्रयास गरे। तर जसोतसो ज्यान जोगाए।’ उनीहरू किन तोडफोड तथा आक्रमण गरेको कुरा थाहा नभएको बताए।

मेयर यादवका अनुसार तीन दिन अगाडि विद्यार्थीहरू शैक्षिक भ्रमणका लागि बजेट माग्न आएका थिए। तर नगर परिषद् नभएकाले तत्काल बजेट दिन नसक्ने र परिषद् भएपछि बजेट उपलब्ध गराउने भनेर सम्झाई बुझाई पठाएको थिए। तर आज नगरपालिकामा आएर अचानक आक्रमण गरे।

नगरपालिकाको वडा नम्बर ७ को वडाध्यक्षमा जसपाबाट निर्वाचित नरेन्द्र सिन्हाका दाइ प्रधानाध्यापक हरेन्द्र प्रसाद कुशवाहाको निर्देशनमा विद्यार्थीहरू आक्रमण गरेको मेयर यादवले आरोप लगाए। मेयरमा यादव नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन्। सुरक्षाका लागि पुगेका प्रहरीमाथि समेत विद्यार्थीहरू ढुंगामुडा गर्दा पटकपटक झडप भएको छ। नेपाल र सशस्त्र प्रहरीले सात राउण्ड अश्रुग्याँस प्रहार गरेर स्थिति नियन्त्रणमा लिएका छन्।

झडपका क्रममा नेपाल प्रहरीका असई सुनिल यादवसहित २ जना र सशस्त्र प्रहरीका ३ जवान घाइते भएका रौतहटका एसपी वीर बहादुर बुढाथोकीले जानकारी दिए। झडपमा केहि विद्यार्थी पनि घाइते भएका छन्। तर एसपी बुढाथोकीले विद्यार्थी घाइते भएको विवरण नआएको बताए।

कमेन्ट लोड गर्नुस