सुदूर नेपाललाई विश्वसँग जोड्दै

चाडबाड आइसके, सुदूरपश्चिमका सहुलियत पसलमा चिनी नै छैन

सरकारी गोदाम रित्तो

२०७९ असोज ८, ०६:४६ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः जहिल्यै चाडबाड लाग्दानलाग्दै सहुलियत पसलको चर्चा सुरु हुन्छ। तर, बडा दशैको पहिलो दिन घटस्थापना सुरु हुनै लाग्दा सरकारी चिनी गोदाम भने रित्तै छ। सहुलियत दर अर्थात भन्सार छुटमा आयात चिनीको मौज्दात सुदूरपश्चिममा शुन्य छ। 

चाडबाडलाई नै लक्षित गरेर विगतका वर्षमा चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइन्थ्यो। चाडबाडमा सरकारी संस्थानको उपस्थिति नहुँदा बजारभाउ अराजक बन्दै गएको छ। व्यापारीहरूले आफूखुसी मूल्य तोक्दै आएको उपभोक्ताको गुनासो छ। त्यसलाई हस्तक्षेप गर्न सहुलियत पसल सञ्चालन गर्ने गरिएको सरकारी पक्षको दाबी छ। तर, यसपटक भने सरकारी गोदाममै चिनी नभएकोे साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीका निमित्त प्रमुख तेजबहादुर कुँवर बताउँछन्।

‘साल्ट ट्रेडिङ कर्पोरेशन धनगढीसँग चिनी नै छैन। दशैतिहारका लागि नुन विक्रीमा २ रुपैयाँ र प्रतिलिटर तेलमा ७ रुपैयाँ छुट दिएर धनगढी र अत्तरियाबाट विक्रीवितरण सुरु गरिसकेका छौँ।’ भन्सार छुटको चिनी नभएपछि धनगढीमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले धनगढी र अत्तरियामा स्थापना गरेको सुपथ मुल्य पसलबाट तेल, नुन र चिउरा विक्रीका लागि मात्र प्रबन्ध मिलाएको छ।

हाल चिनी आयात गर्दा भन्सार शुल्क ४० प्रतिशत लाग्छ। त्यसमा १३ प्रतिशत भ्याट लाग्छ। साल्ट ट्रेडिङ कर्पोरेशनलले भने २० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्दै आएको थियो। तर यसवर्ष सरकारी कम्पनीसँग चिनी मौज्दात नहुँदा बजारमा मनोमानी बढ्ने निश्चित छ। 

सहुलियतको चिनी माथिबाट आइनपुगेकाले यसवर्ष चिनीबाहेका सामग्रीमात्र विक्रीका लागि राखेर सुपथ मुल्य पसल असोज ४ गतेबाट सञ्चालनमा ल्याएको निमित्त प्रमुख कँवरले बताए। हरेक वर्ष चाडपर्वको समयमा उपभोक्तालाई सस्तो मूल्यमा खाद्यान्न उपलब्ध गराउन सरकारको खाद्य कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले सुपथ मूल्य सञ्चालन गर्छन्।

दसैंको सहुलियत पसल सञ्चालनका लागि तीनवटै निकाय तयारीमा जुट्नुपर्नेमा प्रभावकारी काम नभएको उपभोक्ताको गुनासो छ। सरकारले बर्सेनि दसैंतिहारलाई लक्षित गर्दै सुपथ मूल्य पसलको व्यवस्था गर्छ। आम उपभोक्ताका लागि खाद्यान्नका निश्चित परिमाणमा छुट घोषणा गरेर धनगढीका तीन स्थानबाट खाद्यन्न विक्रीको व्यवस्था मिलाएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड धनगढीका सुचना अधिकारी जगतबहादुर कुँवरले बताए।

‘चामलको क्वालिटीअनुसार दशैतिहारसम्मका लागि छुटको व्यवस्थासहित धनगढी गोदाम, मोहनपुर गोदाम र साल्ट ट्रेडिङ को सुपथ मुल्य पसलबाट गरी तीन स्थानबाट विक्रीका लागि ५ सय क्वीन्टलको कोटा निर्धारण गरिएको छ।’

कमेन्ट लोड गर्नुस