सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री र मन्त्रीको ‘राहतवाला’ तस्बिर भाइरल, हेलिकोप्टरमा पुगेका थिए अछाम

तस्बिरः सामाजिक सञ्जालबाट
तस्बिरः सामाजिक सञ्जालबाट
२०७९ असोज ८, ०६:१८ खबर संवाददाता

धनगढीः सामाजिक सञ्जालतिर एक तस्बिर भाइरल बनेको छ। तस्बिर हो, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीसहितको टोलीले राहत प्रदान गरिरहेको। सो तस्बिरले अहिले सामाजिक सञ्जालका भित्ता रंगिएका छन्। प्रदेशवासीले प्रदेश सरकार र मुख्यमन्त्री तथा मन्त्रीलाई जोडेर विभिन्न टीका-टिप्पणी गरिरहेका छन्।

यहीँ तस्बिरको विषयलाई लिएर कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सिताराम भट्टले आफ्नो फेसबुकमा ‘अभाव वा दुर्दिन त जसको जीवनमा पनि आई पर्न सक्छन्। कसैको  ईज्जतको हुर्मत लिन सुदूरपश्चिम प्रदेश सरकारसित सिक्नुस्’ भनेर लेखेका छन्।

यस्तै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले पनि ‘लाजै नभएपछि कस्को पो के लाग्छ र ?’ भन्दै त्यसमा प्रतिक्रिया जनाएका छन्। उनीजस्तै अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि राहतको विषयलाई लिएर प्रदेश सरकारको चर्को आलोचना गरिरहेका छन्। नामको मात्रै राहत दिएर राहत रकमभन्दा बढी आवतजावत र हेलिकोप्टरमै खर्च गर्ने र जनताको पीडामाथि मजाक गर्ने सरकार तथा जनप्रतिनिधिको चरित्र उदांगो भएको उनीहरुको बुझाई छ। 

कुरा असोज ७ गतेतिरको हो। सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल अछामतिर पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्केका थिए। प्रभावित क्षेत्रको अनुगमन गर्ने र अनुगमन भ्याएर प्रदेश सरकारको तर्फबाट राहत प्रदान गर्ने योजनाका साथ उनीहरु हेलिकोप्टरमा त्यहाँ पुगेका थिए। 

त्यहाँ पुगेर उनीहरुले पीडितलाई सहयोग पनि गरे। उनीहरुले पहिरोमा परेर मृत्यु भएकाका परिवारलाई भेटेर १३ लाख ४० हजार रुपियाँ राहत हस्तान्तरण गरेका थिए। उनीहरुले एक जना मृत्यु भएको परिवारलाई एक लाख र २० हजार रुपियाँ किरिया खर्च, दुई वा दुईभन्दा बढीको मृत्यु भएको परिवारलाई प्रतिपरिवार दुई लाख र २० हजार रुपियाँ किरिया खर्च वितरण गरेका थिए। पहिरोमा परेर मृत्यु भएका कमलबजार, ढकारी र तुर्माखाँद गाउँपालिकाका स्थानीयलाई राहत प्रदान गरिएको थियो। 

पहिरोले केही दिनअघि २३ जनाको मृत्यु भएको थियो। यस्तै विभिन्न भौतिक संरचना पनि तहसनहस भएका थिए। 

 
 

कमेन्ट लोड गर्नुस