सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मुख्य सडक चौडा बनाउन रेखांकनको निवेदन दिने घरधनी बढ्दै

२०७९ असोज ८, १०:४६ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः नगर क्षेत्रभित्र सार्वजनिक खोलानालाको अतिक्रमण हटाउने अभियान थालेको धनगढी उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा पनि अतिक्रमण हटाएर सडक चौडा गर्दैछ। उपमहानगरले सूचना नै जारी गरेर सडकको क्षेत्राधिकारभित्र बनाइएका संरचना हटाउन निर्देशन दिइसकेको छ।

त्यसका लागि उपमहानगले अहिले रेखांकनको काम गरिरहेको छ। घरधनीले दिएको निवेदनको आधारमा उपमहानगरले रेखांकन गरिरहेको हो। जस अन्तर्गत चौलानी डिपार्टमेन्टल स्टोरको रेखांकनको काम भएपछि संरचना भत्काउन सुरु भएको छ।

सडक क्षेत्राधिकारभित्र पर्ने घरधनीले आफ्नो भौतिक संरचना भत्काउन उपमहानगरमा निवेदन दिनेक्रम जारी नै रहेको उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टले बताए। ‘सरकारी एवं निजी घर धनीले सडक क्षेत्राधिकारभित्र पर्ने आफ्नो भौतिक संरचना खाली गराउन रेखांकनका लागि निवेदन दिनेक्रम बढ्दै गएको देखिन्छ' उनले भने, 'असोज मसान्तभित्रको समयावधि भएकाले कतिपयले रेखांकन गराएर आफ्नो भौतिक संरचना तोड्न सुरु गरिसकेको देखिन्छ।’ कैलाली पुलदेखि क्याम्पस चोकसम्म सडकको क्षेत्राधिकार ३० मिटरभित्र बनाइएका घरटहरा लगायतका संरचना असोज मसान्तभित्र हटाइसक्न भनिएको छ।

तोकिएको समयमा संरचना हटाउन अटेरी गर्नेलाई प्रचलित ऐनअनुसार कारबाही गरिने उपमहानगरले जनाएको छ। मुख्य बजार क्षेत्रमा सडकको क्षेत्राधिकार मिचेर दर्जनौँ संरचना निर्माण गरिएका छन्। ती संरचनालाई हटाएर पार्किङ व्यवस्थासहित फुटपाथ र साइकल लेनसमेत भएको अत्याधुनिक सडक निर्माण गर्ने योजना उपमहानगरको छ। सडक निर्माणका लागि परामर्शदातामार्फत सर्भेको काम भइसकेको छ। पुरानो नेपाल बैंक लिमिटेड, चौलानी डिपार्टमेन्टल स्टोर, उग्रतारा कम्प्युटरले रेखांकनका लागि उपमहानगरमा निवेदन दिएका छन्।

त्यस्तै सरकारी कार्यालय अन्तर्गत भेटनगरी, लक्ष्मीनारायण मन्दिर, पशुरोग अन्वेषण प्रयोगशाला तथा सेती प्रादेशिक अस्पतालले रेखांकनका लागि निवेदन दिएको उपमहानगरपालिकाका घरनक्सा शाखाप्रमुख भुवनबहादुर शाहीले बताए। ‘सडक चौडा बनाउने विषयमा अधिकांश सरकारी एवं निजी घरधनीको सहयोग सकारात्मक देखिएकाले रेखांकनका लागि कार्यालयमा निवेदन दिनेक्रम बढेको छ' उनले भने, 'कार्यालयमा प्राप्त निवेदनपछि प्राविधिकसहित सम्वन्धित स्थानमा पुगेर रेखांकन गर्ने काम चलिरहेको छ।’ तर अटेरी गरेर नहटाएका भौतिक संरचना भने असोजपछि डोजर लगाएर खाली गर्ने उपमहानगरपालिकाको तयारी छ।

मुख्य बजारको यो खण्ड करिब पौने तीन किलोमिटर छ। अतिक्रमण गरी संरचना बनाइएका कारण धनगढी बजार क्षेत्रको सडक साँघुरो छ। प्रदेशको अस्थायी राजधानी र प्रमुख व्यापारिक केन्द्र रहेको धनगढीमा जनसंख्या र सवारीसाधनको चाप सडकले धान्न नसक्ने गरी बढीरहेको छ।

सडक चौडा नगरे धनगढी बजारको अस्तित्व नै संकटमा पर्ने भन्दै उपमहानगरले सडक चौडाको प्रक्रिया अघि बढाएसँगै नगरवासीले रेखांकनका लागि निवेदन दिइरहेको उपमहानगरले जनाएको छ। धनगढी–अत्तरिया ६ लेन सडक बनिसकेको छ। वरिपरिका अन्य सडक पनि चौडा बनिरहेका छन। धनगढी बजारलाई अहिले नै व्यवस्थित नगर्ने हो भने पछि यसको अस्तित्व संकटमा पर्ने भन्दै सडक चौडा पार्न उपमहानगरले यसअघि नै सूचना जारी गरिसकेको छ।

 

 

कमेन्ट लोड गर्नुस