सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बिमा समितिको प्रदेश कार्यालय स्थापना

२०७९ असोज ७, १०:४९ खबर संवाददाता

धनगढी: धनगढीमा बिमा समितिको प्रदेश कार्यालय स्थापना भएको छ। शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले प्रदेश कार्यालयको उद्घाटन गरेका हुन्।

सुदूरपश्चिम प्रदेशमा बिमितिको संख्या कम रहेको तथा बिमा गर्न सबै पेशा, व्यवसाय र सर्वसाधारणलाई बिमा गर्न उत्प्रेरित गर्न र जोखिम न्यूनीकरण गर्न धनगढीमा बिमा समितिको कार्यालय स्थापना गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए।

धनगढीमा बिमा समितिको कार्यालय स्थापना भएसँगै बिमा गर्न, बिमा गरेबापत भुक्तानी लिन सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ। बिमा समितिको स्थापनाले सबै क्षेत्रको बिमा गराउनेको संख्या बढ्ने विश्वास प्रदेश सरकारको छ। बिमा समितिको कार्यालय धनगढीमा खुलेपछि बिमा समितिले सबै पेशा र क्षेत्रका व्यवसायी र किसानलाई लाभ हुने प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले बताए।

सुदूरपश्चिम प्रदेशमा कृषि बिमाका लागि आएको बजेट हरेक वर्ष फिर्ता हुने गरेको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीले बताए। किसानलाई बाली तथा पशुपंक्षी बिमा गर्न संघीय सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत अनुदान दिने गरेको भए पनि किसानको आकर्षण बढ्न नसकेकोले बिमा समितिको कार्यालय स्थापना भएपछि बिमित गराउनेको संख्या बढ्ने विश्वास मन्त्री चौधरीको छ।

अर्थमन्त्री शर्माले सबैखाले सरकारी सम्पत्ति पनि बिमा हुनुपर्ने आवश्यकता औंल्याए। बिमा गरे जोखिम बहन गर्न व्यक्तिले नपर्ने र राज्यको भार पनि कम हुने भएकाले सबै प्रकारका बिमा गर्न गराउन सरकार नै अग्रसर हुनुपर्ने मन्त्री शर्माले बताए।

कमेन्ट लोड गर्नुस