सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौं उपत्यकाको फोहर व्यवस्थान गर्न १० दिन लाग्ने

२०७९ भदौ ४, ०६:३३ खबर संवाददाता

काठमाडौं:  दुई महिनादेखि काठमडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ। पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहोर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहोर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन।

शहरका चोक, गल्लीमा लामो समयदेखि फोहोर थुप्रिएको छ। साविकबमोजिम फोहोर व्यवस्थापनको लागि स्थानीयले अवरोध नगरे र पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा सबै फोहोर व्यवस्थापन हुने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिए।

उनका अनुसार अहिले पनि काठमाडौं उपत्यकाका १८ स्थानीय तहमा ८ हजार टिपर फोहोर व्यवस्थापन गर्नुपर्ने छ । बिनाअवरोध नियमित फोहोर व्यवस्थापन गर्न सके सबै फोहोर व्यवस्थापनमा सो समय लाग्नेछ। फोहोर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चार बुँदे सहमतिपछि बिहीबारबाट साविकबमोजिम फोहोर व्यवस्थापन कार्य हुन थालेको हो।

पछिल्लो सम्झौताअनुसार फोहोरको गाडीबाट लिच्चड चुहाउन पाइने छैन। तर, काठमाडौं महानगरसँग अहिले लिच्चड ट्याङ्क भएको ७५ टिपर छन्। ती टिपरले दैनिक दुई टिप गर्नेछन् भने १५० वटा लिच्चड ट्याङ्क भएका टिपर भाडामा लिएर प्रयोग गर्ने तयारी रहेको सचिवालय सदस्य लम्सालले बताए।

सहमतिपछि बिहीबारबाट नै दुई महिनादेखि टेकु ट्रान्सफर स्टेसनमा थुपारिएको फोहोर व्यवस्थापनको काम पनि सुरु भएको छ। उक्त स्थानमा पनि अझै ५ सय टिपर फोहोर रहेको बताइएको छ । लामो समयदेखि उपत्यकाका १८ स्थानीय तहको फोहोर अन्तिम व्यवस्थापनस्थलसम्म लान नपाएपछि काठमाडौं महानगरले टेकुमा थुपारी प्लास्टिकले छोपेर राखेको थियो । हाल सञ्चालनमा रहेको फोहोर बोक्ने टिपरको सङ्ख्यामा वृद्धि गरी केही दिनमा नै दैनिक ३ सय गाडीले फोहोर विसर्जनको तयारी रहेको छ।

अहिले उपत्यकाको विभिन्न स्थानमा अस्तव्यस्त रूपमा रहेको फोहोरको विसर्जन हुनेबित्तिकै त्यसपछि बञ्चरेडाँडामा लगिने सबै फोहोर पूर्ण रूपमा वर्गीकरण भएर मात्रै लाने जनाइएको छ। घरबाट फोहोर उठाउँदा स्रोतमै वर्गीकरण गर्ने विषयलाई महत्त्वका साथ हेर्ने र तोकिएको बारअनुसार फोहोरको वर्गीकरण नभए यसअघि भनेझैँ कारबाही प्रक्रिया अघि बढाइने महानगरले चेतावनी दिएको छ।

 

कमेन्ट लोड गर्नुस