सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरको विशेषज्ञ वडा क्लिनिकबाट साउनमा ४ हजार बढीले निःशुल्क उपचार पाए

२०७९ साउन ३०, ०७:५४ खबर संवाददाता

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाको विशेषज्ञ वडा क्लिनिकबाट साउनमा ४ हजार बढीले निःशुल्क उपचार सेवा पाएका छन्। साउन १ गतेदेखि वडा नम्बर १९ बाट सुरु भएको विशेषज्ञ वडा क्लिनिकमा हालसम्म ४ हजार २८१ जनाको उपचार गरिएको उपमहानगरले जनाएको छ।

वडा क्लिनिकमा २ हजार ९१९ व्यक्तिले जनरल फिजिसियनबाट सेवा लिएका छन् भने १ हजार ३६२ ले स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा लिएका छन्। यस्तै ४३३ जनाले प्रयोगशाला सेवा लिएका छन् भने ४०३ जनाले अल्ट्रासाउन्ड सेवा लिएका छन्। विशेषज्ञ वडा क्लिनिकमा २६० जनाले इसिजी सेवा लिएका छन्। यस्तै ३२४ जना गर्भवतीको स्वास्थ्य परीक्षण भएको उपमहानगरले जनाएको छ। त्यस्तै क्लिनिकमा ६३५ जना ७० वर्षमाथिका नागरिकले स्वास्थ्य उपचार गराएका छन्।

धनगढी उपमहानगरपालिकाले ५ वर्षसम्म हरेक महिना विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्नेछ। उपमहानगरलाई विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न धनगढीमा रहेको भाटभटेनी सुपर मार्केटले विशेषज्ञ स्वास्थ्यकर्मीको तलबभत्ता दिने सम्झौता गरेको छ भने उपकरण प्रदेश सरकारले उपलब्ध गराएको थियो। क्लिनिकमा निःशुल्क औषधि वितरण गर्न नागरिकस्तरबाट उपमहानगरलाई सहयोग प्राप्त हुने गरेको छ। यस्तै नगर प्रमुख गोपाल हमालले आफूले पाएको गाडी क्लिनिकलाई प्रदान गरेका थिए। 

कमेन्ट लोड गर्नुस