सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रहरीले घुम्न आएका भारतीय नागरिकलाई ठगेपछि...(भिडिओसहित)

२०७९ साउन २७, ०६:०२ खबर संवाददाता

धनगढीः कैलालीको चिसापानी घुम्न आएका एक भारतीय नागरिकले आफू प्रहरीबाट ठगिएको बताएका छन्। शुक्रबार चिसापानीतर्फ जाने क्रममा जिल्लाको टीकापुरस्थित खक्रौला (नाका) भन्सार हुँदै आएका सर्वेश कुमार ठगिएका हुन्। 

ट्राफिक प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी हवल्दार तिलकबहादुर मल्लले आफूलाई ठगेको सर्वेशले बताएका छन्। यस्तै आफू सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर नेपाल प्रवेश गरेको भएपनि ती हवल्दारले अनावश्यक दुख दिएको उनले बताए। 

‘बिदाको समयमा परिवार लिएर म चिसापानीमा घुम्न आएको थिए,’ सर्वेशले भने, ‘भन्सारबाट लिइएका गाडीको अस्थायी पैठारी लगायतका सबै कागजात मसँग थिए। तर, कागजात हुँदाहुदै पनि दुख दिइयो’, उनले थपे, ‘पाँच सय भारतीय रुपैयां लिएर नेपाली पाँच सयको रसिद मेरो हातमा थमाइयो।’ चिसापानीबाट करिब २ किलोमिटर वर जंगलक्षेत्रमा आफूलाई रोकेर जरिमाना काटिएको उनको भनाइ छ। 

यता, ट्राफिक प्रहरी हवल्दार मल्लले भने सार्वजनिक सवारी साधन ऐनको दफा १६४ बमोजिम कारबाही गरेको जनाए। भारतीय गाडीले लिनुपर्ने परमिट नलिएकाले जरिमाना काटिएको उनको दाबी छ। तर, उनले काटेको जरिमाना रसिदमा कार्यालयको छाप नै छैन।

यस्तै यो विषयमा आफूलाई पनि जानकारी आएको बताउँदै थप बुझिरहेको ट्राफिक कार्यालय  चिसापानीमा प्रमुख जगदिश ऐरले बताए।


 

कमेन्ट लोड गर्नुस