सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन घोषणासँगै धनगढीमा पुष्करनाथ ओझा र आरजुको चर्चा

२०७९ साउन २७, १२:३१ खबर संवाददाता

धनगढीः सरकारले मंसिर ४ मा संसदीय चुनाव गर्ने घोषणा गरेको छ। चुनावको मिति घोषणासँगै सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा कांग्रेसका दुई नेताबारे चुनावी चर्चा चुलिएको छ। 

यहाँका चोकचौतारादेखि चियापसलमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा र पूर्वराज्यमन्त्री तथा कांग्रेसबाट कारबाहीमा परेका नेता पुष्करनाथ ओझाबारे चुनावी चर्चा चुलिएको हो। ०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर-५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आरजु एमालेका नारदमुनि रानासँग करिब ४ हजार मतले पराजित भएकी थिइन्।

त्यतिबेला दाबेदार रहेका नेता ओझाले आरजुलाई हराएको आरोप लागेको थियो। त्यही आरोपले ओझा पार्टीबाट कारबाहीमा परेका थिए। कांग्रेसले ओझालाई साधारण सदस्यबाट निष्काशित गरेको कारबाही अहिलेसम्म फुकुवा भएको छैन।

ओझाले मंसिर ४ मा कैलाली-५ मा स्वतन्त्रबाट भए पनि उम्मेदवार बन्ने तयारी थालेका छन्। उनले निकटका नेता तथा कार्यकर्तासँग आफ्नो उम्मेदवारी रहने जानकारी गराएको एक निकटस्थले बताए। यस्तै कांग्रेसबाट प्रधानमन्त्री पत्नी आरजु नै उम्मेदवार बन्ने कांग्रेसवृतमा चर्चा छ। यो चर्चा र कैलाली कांग्रेसभित्रको ठूलो अन्तरसंघर्षका कारण यहाँको संसदीय निर्वाचन रोचक हुने देखिएको छ। 


 

कमेन्ट लोड गर्नुस