सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिदेशीय सीमा जोड्ने ३ सडक एक दशकदेखि उल्झनमै

२०७९ साउन २४, ०१:२७ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः २०६४ अर्थात पहिलो संविधानसभा निर्वाचनपछि सुदूरपश्चिममा त्रिदेशीय सीमा जोड्ने सामरिक महत्त्वका ३ सडक योजना अघि सारिए। सेती लोकमार्ग, महाकाली करिडोर र धनगढी–दीपायल द्रुत मार्ग। 

२०६५ मा कैलाली, डोटी, बझाङ, अछाम र बाजुरालाई सडक सञ्जालमा जोड्ने गरी सेती लोकमार्गको अवधारणा बन्यो। सेतीका पाँच जिल्ला हुँदै बझाङको चैनपुर र चीनको तिब्बत–ताक्लाकोट जोड्ने गरी सडक निर्माण सुरु गरियो। यस्तै कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाको मध्यपहाड हुँदै तिंकर भञ्ज्याङ–तिब्बतको ताक्लाकोट जोड्ने गरी महाकाली करिडोर २०६५ देखि निर्माणको प्रक्रियामा आयोे। तर सडक निर्माणको गति हेर्दा अझै कयौँ वर्ष कुर्नुपर्ने सरोकारवाला बताउँछन्। 

महाकाली करिडोरको निर्माण संघीय सरकारकाले निर्माण गर्दै आएपनि प्रगति निकै सुस्त देखिएको मालिकार्जुन गाउँपालिका दार्चुलाका अध्यक्ष हिरासिंह धामी बताउँछन्। ‘हामीले धेरै पटक निर्माण कार्यमा तीव्रता दिन आग्रह गर्दै आएपनि हाम्रो आग्रहलाई बेवास्ता गरिदैँ आएको छ’ उनी भन्छन्, ‘यो योजना कहिले र कसरी अगाडी बढ्दै छ, कहिले सम्पन्न हुने विषयमै हाम्रो पहुँच पुग्न सकिरहेको छैन्।’ योजनालाई एक दशकदेखि उल्झनमा पार्ने काम मात्र भइरहेको उनले अनुभूति गरेका छन्।

त्यस्तै २०६६ मा धनगढीको हसनपुर हुँदै धनगढी–खुटिया–दीपायल द्रुत मार्गको योजना बनेको थियोे। महाकाली, सेती र धनगढी–खुटिया–दीपायल गरी तीनवटा सडक कालोपत्रेपछि मात्र सुदूरपश्चिममा विकासको ढोका खुल्ने देखिएपनि १४ वर्ष बितिसक्दा निर्माणको अवस्था कछुवा गतिमा छ। 

कूल ४२५ किलोमिटर लामो महाकाली करिडोर कञ्चनपुरको ब्रह्मदेव हुँदै डडेल्धुराको परशुराम क्षेत्र र बैतडीका विभिन्न स्थानीय तह छिचोल्दै दार्चुलाको सदरमुकामलगायतका क्षेत्रसहित चीनको ताक्लाकोट जोड्न २०६५÷६६ देखि निर्माण सुरु भएको थियो। तर,  प्रगति उत्साहजनक छैन।

सुदूरपश्चिमबाट संघीय सांसद बन्न सामरिक सडक निर्माणलाई देखाएर यस अवधिमा दर्जनौ सांसद र मन्त्री भए। तर निर्माणमा उल्झन कायमै रहेको दार्चुलाका स्थानीय कृष्णराज बोहले बताए। ‘सडक सम्वृद्धिसँग जोडिएका योजना नेताका लागि भोट बैंक मात्रै बन्ने गरेको अवस्था छ’ उनले भने, ‘प्रदेश र स्थानीय सरकारले पनि आश्वासन मात्र दिने गरेका कारण प्रगति हुन सकेको छैन।’

कैलालीको टीकापुरदेखि बझाङको सदरमुकाम चैनपुर हुँदै उरै भञ्ज्याङ–ताक्लाकोट जोड्ने सेती लोकमार्गको लम्बाइ ३५९ किलोमिटर छ। पछिल्ला ४ वर्षयता सेती लोकमार्ग दक्षिणखण्ड र सेती लोकमार्ग उत्तरीखण्ड गरी २ योजना बनाइएका छन्। टीकापुर–चैनपुरसम्मको २४२ किलोमिटरखण्ड सेती लोकमार्गको दक्षिणखण्ड हो भने चैनपुर–उरै भञ्ज्याङ हुँदै ताक्लाकोटसम्मको ११७ किलोमिटर सेती लोकमार्गको उत्तरीखण्ड हो। दक्षिणखण्डमा केही काम भए पनि उत्तरीखण्डमा भने प्रगति हुन सकेको छैन। 

सुदूरपश्चिमबाट भारतको सिमानादेखि चीन जोड्ने एउटा पनि मार्ग छैन। कैलाली र कञ्चनपुरबाट चीनको सिमाना जोड्ने सेती लोकमार्ग छोटो दूरीको मार्ग हो। यसले भारत र चीन दुई छिमेकी देशको नाकालाई छोएको छ। 

टीकापुर नाकाबाट भारत र ताक्लाकोट बझाङले चीनलाई छोएको छ। सडक निर्माणको प्रगति भने हुन नसकेको साफेबगर नगरपालिका अछामका नगरप्रमुख राजेन्द्रबहादुर कुँवर बताउँछन्। ‘यसअघि विस्तृत वातावरणीय प्रभाव मूल्यांकन नभएकाले निर्माण गर्न नसकिएको योजना कार्यालयको गुनासो थियो’ उनी भन्छन्, ‘तर पछिल्लो समस्या यो काम सम्पन्न भइसक्दा पनि सडक निर्माण योजना कार्यालयको बेवास्ताका कारण अघि बढ्न सकेको छैन।’

प्रदेशभित्र डबल लेनका २ वटा सडक मात्र छन्। पूर्व–पश्चिम राजमार्ग र भीमदत्त पन्त राजमार्ग। यस्तै ६ लेनको एउटा सडक मोहनापुल–अत्तरिया सडक निर्माणले पनि अझै पूर्णता पाएको छैन। 

प्रदेशभित्र कालोपत्रे, ग्राभेल तथा माटे गरी अहिलेसम्म ५ हजार ४७५ किलोमिटर सडक निर्माण भएको तथ्यांक छ। संघ, प्रदेश र स्थानीय तह स–साना टुक्रे सडक निर्माणमा मात्र केन्द्रीत हुँदा सामरिक महत्वका सडक निर्माण भने ओझेलमा परेको देखिएको छ। मध्यपहाड र हिमाललाई पनि सडक सञ्जालमा जोड्नुपर्ने अवधारणा २०६२÷६३ को जनआन्दोलनपछि मात्र आएको थियोे।
 

कमेन्ट लोड गर्नुस