सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा तस्कर र भन्सारका कर्मचारीबीच हात हालाहाल, ४ जना नियन्त्रणमा

२०७९ साउन २४, ११:३७ खबर संवाददाता

धनगढी: गौरीफन्टा नाकाबाट प्रहरीले दुई महिलासहित ४ जनालाई नियन्त्रणमा लिएको छ। नाकाबाट अवैध रुपमा सामान लिएर आइरहेका दुई जना महिलालाई सोमबार राति प्रहरीले नियन्त्रणमा लिएको हो। 

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-२ का रिचा कुँवर र मञ्जु कुँवरलाई नाकाबाट सामान ल्याइरहेको अवस्थामा गाडीमा गस्ती गरिरहेका भन्सार कार्यालय कैलालीका कर्मचारीले फेला पारेका थिए। उनीहरुले ल्याएको सामान नियन्त्रणमा लिँदा भन्सार कार्यालयका गाडी चालक रोहित महतामाथि हातपात गरिएको थियो। 

रिचा र मञ्जुले चालकमाथि हातपात गरी उनको कपडा समेत च्यातेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए। गाडि पनि तोडफोड गरिएको उनले बताए। धेरै बेरसम्म सम्झाइ बुझाइ गर्न खोज्दा पनि नमानेपछि उनीहरुलाई नियन्त्रणमा लिनुपरेको प्रवक्ता जोशीले बताए। 

गाडि तोडफोडमा रिचाका श्रीमान कालुसिंह कुँवर पनि संलग्न रहेको पाइएकाले उनलाई पनि नियन्त्रणमा लिएको डिएसपी जोशीले  बताए। तर, महिलाहरुले भने आफूहरुमाथि हातपात भएको, नाकमा लगाएको फुली हराएको, आफूहरुबाट दुई हजार रकम माग गरिएको जस्ता आरोप लगाइरहेको प्रवक्ता जोशीले बताए। 

अहिले जिल्ला प्रहरी कार्यालयमा चालक महतासहित रिचाका श्रीमान, रिचा र मञ्जुलाई राखिएको बताइएको छ। राति ती महिलाहरुले ल्याएको सामान भन्सार कार्यालयले बरामद गरेको र घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस