सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बढ्दै अनियमितता, ४ महिनामा ९५ उजुरी दर्ता

२०७९ साउन २०, ०५:२५ खबर संवाददाता

धनगढीः कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत फुटपाथ निर्माण गर्दा गुणस्तरहिन ब्लक राख्न लगाएको उजुरी अख्तियारमा दर्ता भएको थियो। उजुरीकै कारण फुटपाथ निर्माणको काम एक महिना अवरुद्ध बन्न पुग्यो। 

फुटपाथमा ब्लक लगाउने र सर्भिस लेनमा ग्राभेल गर्ने सडक निर्माण सम्झौतामा उल्लेख छ। फुटपाथ डेढ मिटर र सर्भिस लेन ३ देखि साढे ४ मिटर चौडा रहनेछ। चौथो पटक म्याद थप हुँदा पनि सडक निर्माणले पूर्णता नपाएपछि पुनः ५औँ पटक म्याद थप्ने तयारी भइरहेको छ। समयमा काम नगर्ने निर्माण व्यवसायी र गुणस्तरहिन सामग्री प्रयोग हुँदा पनि नियमन र कारवाही नहुने अवस्था देखिएपछि यस्ता अनियमितताविरुद्ध अख्तियारमा दैनिक उजुरी दर्ताक्रम बढेको छ। 

सुदूरपश्चिममा अनियमितताका उजुरी दैनिक रुपमा बढ्दै गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी चन्द्रकान्त बस्नेतले बताए। ‘स्थानीय तहसँग सम्बन्धित अनियमितताका उजुरी सबैभन्दा बढी दर्ता हुने गरेको छ’ उनी भन्छन्, ‘असार/साउनमा सबैभन्दा बढी उजुरी पर्ने गरेको देखिन्छ।’

आयोगको कार्यालय कञ्चनपुरमा वैशाखयता दिनहुँजसो स्थानीय तहमा हुने अनियमितता र भ्रष्टाचारका उजुरीहरु धमाधम पर्न थालेका छन्। नयाँ वर्ष २०७९ सुरुभएसँगै विभिन्न माध्यमबाट अख्तियारमा अनियमितताका उजुरी दर्ताक्रम बढ्दै तथ्यांक छ। 

उजुरीको संख्या ४ महिनाको अवधिमा ९५ वटा दर्ता भएको देखिएको छ। कूल उजुरीमध्ये ३५ प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित छन्। अनियमितताविरुद्ध अख्तियारको कार्यालयमा लिखित रुपमा ३३, टेलिफोनबाट १५, भाइबरबाट ३६ तथा इमेलबाट १० वटा उजुरी दर्ता भएको देखिएको छ। उजुरी दर्तासँगै आयोगले छानबिन गर्दै आएको छ। 

स्थानीय तहमा विकासप्रति बढेको चेतनाका कारण यस्ता उजुरीको संख्या बढ्दै गएको सूचना अधिकारी बस्नेतले बताए। 
 

कमेन्ट लोड गर्नुस