सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब सूचना विभागका सबै सेवा अनलाइनबाटै

२०७९ असार १९, ०९:१२ रासस

काठमाण्डौँः सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सबै सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बीआरएलएमएस, डीएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको आज आइतवार उद्घाटन गरे। 

कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले विज्ञान प्रविधि क्षेत्र देशको समृद्धिसँग जोडिएको उल्लेख गर्दै विभागले सुरु गरेको अनलाइन सेवालाई प्रयोगकर्तामैत्री, समाज उपयोगी, प्रभावकारी, प्रेरणादायी, उदाहरणीय र सुरक्षित बनाउन निर्देशन दिए। 

सूचना र प्रविधि क्षेत्रको महत्त्वलाई बुझेर विदेशिएका युवालाई त्यस क्षेत्रमा आकर्षित गर्दै आईटिभित्र देशको भविष्य खोज्नुपर्ने उनको भनाइ छ। मन्त्री कार्कीले जलस्रोत, पर्यटन र व्यावसायिक कृषिमा जस्तै आईटीको क्षेत्रमा पनि स्वर्णीम भविष्य रहेको बताए।

आईटीको क्षेत्रमा रहेको सम्भावनालाई आउँदा दिनमा व्यावहारिक रूपमै अवसरमा परिणत गर्नुपर्ने उल्लेख गर्दै उनले देशलाई समृद्ध बनाउने सरकारको लक्ष्यअनुसार अगाडि बढाउनुपर्नेमा जोड दिए। विभागले अनलाइन सेवाअन्तर्गत सूचना व्यवस्थापन प्रणाली गएको वर्षदेखि सुरु गरेको थियो।

चालु आर्थिक वर्षमा नौ सय २७ पत्रपत्रिका, ३८ टेलिभिजन, दुई सय ५१ रेडियो र एक हजार चार सय ९७ अनलाइनले दरबन्दी बुझाएको विभागले जनाएको छ। अहिलेसम्म प्रेस प्रतिनिधि प्रमाणपत्र लिने पत्रकारको सङ्ख्या ३१  हजार २५ रहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। 

चालु आवमा दुई हजार ९२ प्रेस पास वितरण गर्नुका साथै दुई हजार पाँच सय ५७ प्रेस पास नवीकरण गरिएको छ। त्यसैगरी चालु आवमा दर्ता ६ सय ६२ र नवीकरण ६ सय ७७ गरी अहिलेसम्म तीन हजार चार सय ६३ अनलाइन दर्ता भइसकेको महानिर्देशक हमालले जानकारी दिए।

सञ्चार सचिव डा. वैकुण्ठ अर्यालले डिजिटल नेपालको आकाङ्क्षा पूरा गर्ने उद्देश्यले सञ्चार मन्त्रालयका ९० प्रतिशत सेवा अनलाइनबाटै प्रदान गर्दै आएको जानकारी दिए।

न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष सङ्गीता खड्का र नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र, परिचयपत्र जारी तथा नवीकरण, अनलाइन सञ्चार माध्यम दर्ता तथा नवीकरण, पत्रपत्रिका तथा पत्रकारको अभिलेख व्यवस्थापन, सार्वजनिक सूचना व्यवस्थापन र वितरण, प्रेस रजिस्ट्रारको कार्य जिम्मेवारी सम्पादन, सरकारी कार्यक्रमको औपचारिक फोटोग्राफी, सङ्ग्रह र वितरण तथा सूचनामूलक र ज्ञानवर्द्धक सामग्री प्रकाशन वितरणलगायतका कार्य गर्दै आएको छ। 

त्यही अवसरमा सञ्चार मन्त्री कार्कीले विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिको स्थलगत निरीक्षणसमेत गरेको थियो। 

कमेन्ट लोड गर्नुस