सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई जना भारतीय युवकको शव फेला

फाइल फोटो
फाइल फोटो
२०७९ असार १९, ०७:४० खबर संवाददाता

रौतहटः रौतहटमा दुई भारतीय युवकको शव फेला परेको छ। रौतहटको नुनथरस्थित बाग्मती नदीमा पौडी खेल्ने क्रममा वेपता भएका दुई युवकको शव फेला परेको हो। 

शनिबार चन्द्रपुर–१ पौराही नुनथरको बाग्मती खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई युवकको शव आइतबार प्रहरीले फेला पारेको हो।

पौडी खेल्ने क्रममा भारत सीतामढी कोट बजार बस्ने वर्ष २४ का मयंक अग्रवाल र वर्ष २१ का रितेश साह बेपता भएका थिए। 

उनीहरु सँगै पौडी खेल्न बाग्मतीमा पसेका ३० वर्षका सुमन साहलाई शनिबार स्थानीयले उद्धार गरेर सकुशल बाहिर निकाले पनि दुई जना हराएका थिए।

वेपत्ता भएकाहरुको खोजी कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल हिजोदेखि नै खटिए पनि आइतबार दिउँसो उनीहरुको शव चन्द्रपुर र वृन्दावन नगरपालिकाको सिमाना इलाकामा बलेरीखोर जंगल नजिकै बाग्मती नदी किनारमा फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ।

बीआर ०१ एफ ६६१९ नम्बरको भारतीय गाडी लिएर नुनथर क्षेत्र घुम्न आएका तिनै जना नदीमा रमाइलो गर्दै पौडी खेल्न पसेका थिए। बेपत्ता भएका दुवै भारतीय युवकको शव घटनास्थलबाट १५ किलोमिटर दक्षिणतर्फ फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दहालले बताए।

कमेन्ट लोड गर्नुस