सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी नेताले कार्यकर्तालाई खुट्टा ढोगाएपछि...

२०७९ असार १९, १२:१२ खबर संवाददाता

धनगढीः कार्यकर्तालाई खुट्टा ढोगाएको भन्दै नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलको आलोचना भएको छ। शनिबार बेलुका आफ्नो विवाहको वार्षिकोत्सव कार्यक्रममा मण्डलले कार्यकर्तालाई खुट्टा ढोगाएको भन्दै आलोचना भएको हो।

वैवाहिक वर्षगाँठ मनाउन भन्दै शनिबार बेलुका देवा यादवसहितका माओवादीका कार्यकर्ताहरु विराटनगर महानगरपालिका वडा नं १ स्थित मण्डलको घर पुगेका थिए। केक काटेपछि कार्यकर्ताहरुलाई उनले टीका लगाइदिन्छन्। टीका थापेका कार्यकर्ता देवा यादवसहित अरूले पनि निहुरिएर मण्डलको खुट्टा छुन्छन्। मण्डलले उनीहरूलाई रोक्न पनि नखोजेको भिडिओमा देखिन्छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त भिडिओ सेयर गर्दै कार्यकर्तालाई खुट्टा ढोगाएको भनेर मण्डलको आलोचना गरिरहेका छन्। मोरङको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मण्डल पूर्वमन्त्री पनि हुन्। उनले यो आफूहरुको पारिवारिक संस्कार भएकाले आलोचनाको विषय नभएको बताए।

कमेन्ट लोड गर्नुस