सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया बसपार्कमा नेपाली सेनाको बोर्ड !

२०७९ असार १९, १०:०३ खबर संवाददाता

धनगढी: कैलालीको अत्तरिया बसपार्कमा नेपाली सेनाले आफ्नो दाबीसहितको बोर्ड  राखेको छ। गोदावरी नगरपालिका–२ मा रहेको बसपार्कको बीच भागमा रहेको रुखमा तेघरीस्थित देवीदल गणले ‘नेपाली सेनाको नाममा भोगाधिकार प्राप्त जमिन’ भन्दै बोर्ड टाँसेको हो। 

सेनाले आफ्नो भू–भाग दाबी गरेको ठाँउमा व्यापार लागि प्रयोजन भइरहेका केही घरहरु समेत परेका छन्। उक्त जग्गा हाल गोदावरी नगरपालीकाले भोगचलन गर्दै आएको छ। अत्तरिया बसपार्क, लामीतालसहित करिब १७ हेक्टर जमिनमा सेनाले आफ्नो दाबी पेश गर्दै आएको छ।

तत्कालीन बसपार्क व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण भट्टले त्यतिबेला लाखौँ रकम खर्चेर बसपार्क निर्माण गरिरहेको समयमा सेना चुपचाप बसेर अहिले आएर दाबी गर्नु उचित नभएको बताएका छन्। भट्टले अहिले सरकारमा भएको पार्टीले सो समस्या समाधान गर्नुपर्ने र स्थानीय स्तरबाट सहयोग गर्न आफुहरु तयार रहेको बताए। 

देवीदल गण तेघरीका गणपती सुनिलकुमार मल्लले भने नेपाली सेनाको जमिनको विषयलाई हेर्ने छुट्टै विभाग भएकाले यताबाट खासै केही गर्न नमिल्ने बताए। ‘केन्द्रमा जमिनको विषयलाई मात्रै हेर्ने छुट्टै विभाग छ। उताबाट आएको आदेश हामीले पालना गर्ने हो’ उनले भने। जग्गा खोजी गर्ने क्रममा देखिएको ठाँउमा अहिले सूचनासहितको बोर्ड राखिएको उनले बताए। 

यता गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भटट् यहीँ विषयलाई लिएर काठमाडौँमा रहेको बताइएको छ। मेयर भट्टले स्थानीय राजनीतिक दलका प्रतिनिधीसहित केहिदिन अघि गणपती मल्लसँग भेटघाट समेत गरेका थिए।
 

कमेन्ट लोड गर्नुस