सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगामी निर्वाचनमा विद्युतीय मतदान यन्‍त्रको व्यवस्था गर्न आयोगको माग

२०७९ असार १६, ०६:०९ खबर संवाददाता

काठमाडौँः  निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ। आयोगले गृह मन्त्रालयमार्फत सरकारलाई उक्त आग्रह गरेको हो।

निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो, सुरक्षित तथा स्वच्छ बनाउन निर्वाचन सम्वन्धी कानुनमा भएको व्यवस्थासमेतको आधारमा इभीएमको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गरेको छ। समितिबाट प्राप्त प्रतिवेदन आवश्यक निर्णयार्थ तथा कार्यार्थ गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाइएको आयोगले जनाएको छ। 

‘आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा इभीएमको प्रयोग गर्ने प्रयोजनका लागि प्राप्त प्रतिवेदनमा उल्लेख भए बमोजिमको स्वदेशमा निर्मित इभीएम तत्काल व्यवस्थापन हुन सक्ने अवस्था हाल विद्यमान नभएमा आगामी २०७९ श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित इभीएमको आवश्यक प्रबन्ध गरिदिन गृह मन्त्रालयमार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको छ,’ आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस