सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बुढीतोलामा एक कर्मचारी बाधिँएको अवस्थामा भेटिए, भन्छन्, ‘कार लुटियो’

२०७९ असार १३, ०२:०५ खबर संवाददाता

धनगढीः कैलालीको बुढीतोलामा एक कर्मचारी बाधिँएको अवस्थामा भेटिएका छन्। जिल्लाको गोदावरी नगरपालिकास्थित बुढीतोलामा डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी बाधिँएको अवस्थामा भेटिएका हुन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी हिजो (आईतबार) महेन्द्रनगरबाट डडेल्धुरा जान हिडेका थिए। तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको हो। घाइते भण्डारीलाई अहिले उपचारका लागि पदमा अस्पतालमा ल्याइएको छ। भण्डारीको टाउको र शरिरमा चोट लागेको छ। प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ। 

भएको के थियो ? 

भण्डारीले प्रहरीलाई बताएअनुसार महेन्द्रनगरदेखि तीनजना भारतीय मूलका नागरिकले खानीडाडासम्म जाने भन्दै लिफ्ट मागेका थिए। भण्डारीले आफ्नो प्रदेश प्रदेश ३-०१-०२३ च ८७२१ नम्बरको कारमा लिफ्ट दिए। बुढीतोला क्षेत्रमा पुगेपछि फोटो खिचौं भनेर कार रोक्न लगाई उनीहरुले भण्डारीमाथि कुटपिट गरे। उनीहरुले भण्डारीलाई कुटेर प्लास्टिकले हातखुट्टा र मुख बाँधेर सडकदेखि करिब एक सय मिटर तल भिरमा छोडिदिए।

भण्डारीले आफ्नो कार पनि उनीहरुले लिएर फरार भएको बताएका छन्। हात पछाडी बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। लुटिएको गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस